ग्यास दुर्घटनाका बारेमा एलजीका अध्यक्षले मागे माफी
एलजी समूहका अध्यक्ष कू ग्वाङ–मोले भारतको विशाखापटनमस्थित एलजी केमिकल्समा दुई साताअघि भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ग्यास चुहिएर भएको उक्त दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै कम्तीमा एक हजार व्यक्ति घाइते भएका थिए ।
दक्षिण कोरियामा व्यावसायिक घरानाबाट संचालित उद्योग समूहमध्ये यो चौथो ठूलो समूह हो । दक्षिण कोरियाको सबैभन्दा ठूलो रसायन कम्पनीमध्येको एक एलजी केमिकल्सको सहायक कम्पनीका रुपमा भारतमा एलजी पोलिमर्सका रुपमा उद्योग सञ्चालनमा छ ।
गत बुधबार पनि दक्षिण कोरियाको सियोसानमा रहेको एलजी केमिकल्समा आगलागी हुँदा एक जना अनुसन्धाताको मृत्यु हुनुका साथै दुई जना मजदूर घाइते भएका छन् ।एलजी केमिकल्सले पेट्रोकेमिकल्स, प्लास्टिक रेजिन र इन्जिनियरिङ प्लास्टिक उत्पादन गर्दछ । यसका कारखनाहरु दक्षिण कोरिया सहित संयुक्तराज्य अमेरिका, ब्राजिल, चीन र अस्ट्रेलिया समेत धेरै देशमा रहेका छन् ।