पश्चिम नवलपरासी : संक्रमित भेटिएको वडामै भिडभाड भएपछि जोखिम बढ्यो
परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार बिहान एक जना कोरोना संक्रमित भएको पाइएपनि बजार क्षेत्रमा भने भिडभाड घटेको छैन । बजार क्षेत्रमा रहेका बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको भिडभाड बढेको हो । संक्रमित भेटिएको वडा ३ बजार क्षेत्र हो । उक्त वडासँगै ५ नं. वडा बजार क्षेत्रमा छ । संक्रमित वडामा मात्र करिब ८ बढी बैंक तथा वित्तिय संस्था छन् ।
बिहान संक्रमित भएको जानकारी पाएपनि प्रहरी, प्रशासन र स्थानीय तहले बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्न निर्देशन नदिएकाले सर्वसाधारणको भिड बढेको हो । जिल्ला सुरक्षा समितिले ति संस्थाहरु नखोल्न निर्देशन दिएपनि नगरपालिकाले खोल्ने निर्णय गरेपछि साताको दुई दिन खोलिएका हुन् । जिल्लामा शुक्रबार मात्र ३ जना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म जिल्ला सुरक्षा समितिले ति वडाहरुमा आवतजावत रोकेर सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरेको छैन । संक्रमित भेटिएपनि सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर बैंक र वित्तिय संस्थालाई सामाजिक दुरी कायम गरी सेवा सञ्चालन गर्न दिन सकिने नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले भने । दुरी कायम गर्न नसके खोलिएका संस्थाहरु बन्द गर्ने बारे छलफल गरिने उनले बताए । निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले प्रशासनले बन्द गर्ने निर्णय गरेपनि नगरपालिकाले खोल्न दिएको बताए । “ हामीले पसल र बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने भनेका थियौं । सातामा दुई दिन खोलिएका बैंकहरुलाई सधैं खोल्न दिनु प¥यो भनेर आजै दबाब आएको छ ।” निमित्त प्रजिअ माझीले भने । पसलहरु भने बन्द भएपनि सर्वसाधारणको आउजाउमा त्यती कडाई छैन । संक्रमित वडाहरुको आवतजावतमा पूर्ण रोक लगाउनेबारे सुरक्षा समितिको बैठक बसेर टुंगो लगाउने प्रजिअ माझीले बताए ।

शुक्रबार मात्र रामग्राम नगरपालिका–३ घोडपालीका ३३ वर्षीया पुरुष, वडा नं. १८ पम्फापुरकी १५ वर्षीया किशोरी र सुस्ता गाउँपालिका–५का ३५ वर्षीया पुरुषमा कोरोना संक्रमित पाइएको छ । जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ ।