रामग्रामका कोरोना संक्रमित एन्फा कम्प्लेक्स बुटवलको आईसोलेसनमा
बिकास अधिकारी –
परासी, जेठ १२ । पश्चिम नवलपरासीको रामग्रामका दुई जना कोरोना संक्रमितलाई तिन दिनमा बल्ल आईसोलेसन सेन्टरमा पुर्याईएको छ । प्रदेश सरकारले बनाएका कोरोना विशेष अस्पतालमा बेड नभएपछि उनलाई आर्दश मा.वि. परासीमा रहेको क्वारेन्टाईनमा राखिएको थियो ।
शुक्रबार बिहान कोरोना संक्रमणको पुष्टि भएपनि जिल्लामा पनि आईसोलेसन सेन्टर निर्माण हुन नसक्नु र प्रदेशका कोरोना विशेष अस्पताल पनि खाली नभएपछि संक्रमितलाई क्वारेन्टाईनमै राखिएको थियो ।
आईतबार साँझ संक्रमितलाई बुटवल देविनगर स्थीत एन्फा कम्पलेक्समा बनाईएको आईसोलेसन सेन्टरमा लगिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘‘नजिक रहेका कोरोना विशेष अस्पताल खाली नभएपछि दाङको बेलझुन्डी लाने भनिएको थियो तर एन्फा कम्प्लेक्समा बेड खाली रहेको पाईएपनि त्यहाँ राखिएको छ,’’ रेग्मीले भन्नुभयो ।
त्यी दुवै संक्रमितमा कोरोनासँग सम्बन्धीत कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि समान्य रहेको छ । गत शुक्रबार रामग्राममा पहिलो पटक रामग्राम ३ का ३५ वर्षीय पुरुष र रामग्राम १८ की १५ वर्षीया बालीकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
