काेराेना महामारीकाे अर्काे केन्द्र ब्राजिल : २३ हजार बढीकाे मृत्यु, विज्ञ भन्छन- ‘अझै १५ गुणा बढ्न सक्छ’
१३ जेठ । पछिल्लाे समय काेराेना भाइरस (काेभिड- १९) महामारीकाे अर्काे केन्द्र बन्दै गएकाे छ- दक्षिण अमेरिकी मुलुक ब्राजिल । त्यहाँ साेमबार मात्रै १३ हजार बढी नयाँ केसहरू फेला परेका छन् ।
गत बुधबा ब्राजिलमा काेराेना भाइरसबाट संक्रमित हालसम्मकै बढी दैनिक नयाँ केस फेला परे । त्यस दिन २१ हजार ४७२ नयाँ संक्रमित फेलाका थिए । अहिले ब्राजिल विश्वमा काेराेना संक्रमित देशकाे लहरमा दाेस्राे स्थानमा आएकाे छ ।

अहिलेसम्म सबैभन्दा बढी काेराेना संक्रमण र मृत्यु संयुक्त राज्य अमेरिकामा भएकाे छ । त्यहाँ हालसम्म १७ लाख बढीमा काेराेना संक्रमण फैलिएकाे छ भने ९९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
मृत्युका हिसाबले अमेरिकापछि बेलायत दाेस्राे स्थानमा छ । त्यहाँ अहिलेसम्म काेराेनाका कारण ३६ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् । तर ब्राजिलले संक्रमणका हिसाबमा रूस, स्पेन र बेलायतलाई उछिन्दै माथि उक्लिएकाे छ ।
ब्राजिलमा अहिलेसम्म संक्रमित संख्या ३ लाख ७६ हजार ६६९ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या २३ हजार ५२२ पुगेकाे छ । त्यहाँ साेमबार एकैदिन ८०६ जनाकाे काेराेना भाइरस संक्रमणका कारण ज्यान गएकाे छ ।
यसैगरी संक्रमितमध्ये १ लाख ५३ हजार भन्दा बढी चाहिँ निकाे भइसकेका छन् । हाल १ लाख ९९ हजार बढी मानिसमा काेराेना भाइरस सक्रिय छ । तर विज्ञहरू भन्छन् कि ब्राजिलमा धेरैकाे परीक्षण भएकाे छैन । यदि परीक्षण व्यापक बनाउने हाे भने त्यहाँ अहिले देखिएकाे भन्दा १५ गुणा बढी संक्रमित देखिन सक्ने उनीहरूकाे भनाइ छ ।
२१० मिलियन जनसंख्या भएको विशाल देश ब्राजिल भाइरसलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरालाई लिएर अहिले राजनैतिक लडाईमा फसेको छ । त्यहाँका राष्ट्रपति जैर बोल्सोनारोले भाइरसलाई “सानो फ्लू” सँग दाँजेका छन् । उनले यससँग मानिसहरूकाे त्रासलाइ निन्दा गर्दै देशलाई आर्थिक दुर्घटनाबाट रोक्न नियमित काममा फर्कन आग्रह गरेका ।