इच्छुकलाई सम्झनुको अर्थ आफूमा क्रान्तिकारी रुपान्तरण ल्याउनु हो : क्रान्तिकारी पत्रकार महासंघ




काठमाडौं । आज जेठ १३ अर्थात् १८ औं इच्छुक स्मृति दिवस । महामारीकै बीच जनपक्षीय तथा क्रान्तिकारी पत्रकार र जनसाँस्कृतिककर्मीहरुले कवि, साहित्यकार तथा पत्रकार सहिद कृष्णसेन इच्छुकलाई सम्झिएका छन् । क्रान्तिकारी पत्रकार महासंघले प्रत्येक वर्ष आजकै दिन प्रभातफेरी कार्यक्रम गरेर इच्छुक स्मृति दिवस मनाउने गरेकोमा यसपटक श्रद्धाञ्जली वक्तव्य जारी गरेर इच्छुकलाई सम्झिएको छ । महासंघका अध्यक्ष इन्द्र राउतले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै इच्छुकलाई सम्झनुको अर्थ आफूमा क्रान्तिकारी रुपान्तरण ल्याउनु हो भनेका छन् ।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज जेठ १३ गते अर्थात् कवि, साहित्यकार तथा पत्रकार सहिद कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवस । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका कारण प्रत्येक वर्ष आजकै दिन क्रान्तिकारी पत्रकार महासंघ लगायतका संघ संगठनले गर्ने ‘प्रभातफेरी’ कार्यक्रम गर्ने स्थिति रहेन ।



यस अवसरमा हाम्रो संगठन सर्वप्रथम महान सहिद कृष्णसेन इच्छुकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँले आफ्नो शब्द र कर्ममार्फत् जनादेश साप्ताहिक, जनदिशा साप्ताहिक र त्रैमासिक साहित्यिक पत्रिका ‘कलम’को सम्पादक रहेर जनपक्षीय पत्रकारिताको क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दछ । यस अवसरमा हाम्रो संगठन जनपक्षीय पत्रकारिता गर्दा गर्दै जीवन बलिदान गर्नुहुने पत्रकारहरु डि कौडिन्य, कंचन प्रियदर्शी, राजकुमार केसी, हिरावहादुर सारु, चिनवहादुर बुढा, कमल एसी, विनोद सजना, कुमार घिमिरे, नगेन्द्र पोखरेल, पदमराज देवकोटा, महेश्वर पहारी, आनन्दकुमार थापा, भीमवहादुर घर्ति, सुवास मैनाली, मोहन खनाल, चीनवहादुर बुढा, दिवस, आधार, कुशल, अग्नि, विपनासहित २६ जना क्रान्तिकारी पत्रकारहरुको पनि सम्झना गर्न चाहन्छ र उहाँहरुप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, स्तम्भकार दण्डपाणी न्यौपाने, पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकाल, मदन ढकाललाई वेपत्ता पारिएका क्रान्तिकारी पत्रकाहरुप्रति उच्च सम्मान प्रकट गर्दछ ।

समाचार लेखेकै कारण र तत्कालीन माओवादी जनयुद्धको पक्षपोषणमा लेखेकै कारण उहाँ पटक पटक जेल पर्नुभयो र २०५९ साल जेठ १३ गते भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा प्रहरी हिरासतमै चरम यातना दिएर उहाँको हत्या गरियो । उहाँको भौतिक जीवनको हत्या गरिए पनि कृष्णसेन इच्छुकका शब्द र कर्म आज हजारौं लाखौंमा जनपक्षीय आवाज बनेर बाँचिरहेको छ । र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा जनपक्षीय सञ्चारकर्मी तथा जनसाँस्कृतिककर्मीमार्फत् अभिव्यक्त भइरहेको छ ।

इच्छुकले श्रमजीवी, शोषित, उत्पीडित वर्ग र समुदायका जनताको मुक्तिका साथै देशको राष्ट्रिय स्वाधीनताको पक्षमा अविचल रुपमा कलम चलाउनु भयो । आज उहाँलाई सम्झनु, स्मृति दिवस मनाउनुको अर्थ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिनु, जनपक्षीय तथा क्रान्तिकारी पत्रकारिताप्रति आफूलाई समर्पित गर्नु, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा उभ्याउनु र साम्यवादी उदात्त लक्ष्य हासिल गर्न निरन्तर जनपक्षीय आन्दोलनको पक्षमा खह«ो उतार्न आफूमा क्रान्तिकारी रुपान्तरण ल्याउनु हो । त्यस दिशामा अगाडि बढ्ने प्रतिबद्धतासहित हाम्रो संगठन सबै जनपक्षीय तथा श्रमजीवी पत्रकारहरुमा पनि यही आव्हान गर्दछ ।

साथै, कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा रहेर लडिरनुभएका सबै श्रमजीवी पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षामा विशेष ध्यान दिन सरकारसँग जोडदार माग समेत गर्दछ ।”

सम्बन्धित अन्य सामग्रीहरु

 



सम्बन्धित
Loading...