खुला आकाशमुनि रात बिताउँदै बिरामी र कुरुवा
चितवन । चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ ।
अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ । उनीहरुमध्ये अधिकांशले अस्पतालकै खाली चौरमा खाना पकाउने र बरण्डा, प्यासेजमा बिरामीसहित रातको समयमा ओत लाग्ने गरेका छन् । सिराहाबाट बिरामी बुबालाई लिएर उपचारका लागि वैशाख २२ गते क्यान्सर अस्पताल आइपुगेका सुरेशकुमार यादव त्यसयता खुला आकाशमुनि खाना खानु र बिरामीको रेखदेख गर्दै आएका छन् । ‘न उपचार नै पाइएको छ । न त बस्न र खानका लागि कतै ठाउँ नै छ’, उनको गुनासो छ ।
यस्तै सर्लाहीबाट मामाको उपचारका लागि आएका रमित कपाडले उपचारका लागि समय लाग्ने भए पनि गाँसबासको व्यवस्था गरिदिन आग्रह गरे । चौरमा बसेर खाना खाँदै गरेका उनले बिरामीको भर्ना गर्नसमेत कठिन भएको बताए । “फर्किऊँ अस्पताल आएर उपचार नगरी कसरी फर्किऊँ, बसौँ भने बस्ने र खाने ठाउँ छैन”, उनले भने ।
पर्साबाट बिरामी श्रीमती लिएर उपचारका लागि आएका गौरीशङ्कर यादवले अस्पतालमा आएर झन् दुःख पाएको बताए । अस्पतालले उपचारका लागि वैशाख ८ गते बोलाएको भए पनि आउँदा उपचार पाउन नसकेको उनको गुनसो छ ।
कञ्चनपुरबाट बिरामी लिएर आएका कान्छाराम चौधरीले विगत १० दिनदेखि चौरमै बास भएको बताए ।
लहानबाट बिरामी लिएर आएकी सङ्गीता चौधरी अस्पतालभित्र सञ्चालनमा रहेको चमेनागृहमा समेत हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । उनले भने, “पैसा तिरेर खान्छौँ भन्दा पनि राम्रो व्यवहार छैन । अहिले त त्यहाँ अस्पतालका कर्मचारी र भर्ना गरेर राखिएका बिरामीलाई मात्र पस्न दिइने गरेको छ ।” बिरामीको उपचार प्रक्रिया शुरु भएमा मात्रै पनि कुरुवा जसरी पनि बस्न सकिन्थ्यो उनको गुनासो छ । अहिले दिनहुँजसो पानी पर्दा खुला आकाशमुनि खाना बनाउनसमेत उनीहरुलाई समस्या भएको छ ।
कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण देश नै आक्रान्त बनिरहेको समयमा उपचारका क्रममा आएका बिरामी र उनीहरुको कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आवश्यक हुनेलाई मात्र भर्ना लिइएको बताए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले त्यहाँ बिरामी र कुरुवाको अवस्था दयानीय देखिएको बताए । आफूले अस्पतालभित्र रहेका खाली भवन वा अस्थायी टहरा निर्माण गरेर भए पनि उनीहरुको व्यवस्थापन गर्न निर्देशन दिएको बताए । ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी बिरामीसँग एक जना आफन्त मात्र पठाउन अनुरोधसमेत गरेको भट्टराईले जानकारी दिए ।
विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ । रासस
