घोषणा होला त नेपालमा स्वास्थ्य संकटकाल ?
स्वास्थ्य संकटकाल लगाउने विषयमा प्रधानमन्त्री केपी ओलीले विज्ञहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा ओलीले विज्ञहरुसँग छलफल गरेका हुन् ।
संक्रमितको संख्या २ हजार नाघेपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले स्वास्थ्य संकटकालको घोषणा गर्न सक्ने छ ।
त्यसका लागि प्रधानमन्त्री ओलीली विज्ञसँग छलफल गरिरहेका हुन् । स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढे स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।
‘मन्त्रालयले बनाएको कोभिड रेस्पोन्स प्लान हेल्थमा लेखिएको कुरा हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता समिर कुमार अधिकारीले भने, ‘विभन्न विषयमा छलफलहरु भएका छन् । निर्णय क्याबिनेटले गर्ने हो ।’
संक्रमितको संख्या बढेपछि उपचारका लागि स्वास्थ्यकर्मी, अस्पतालमा बेड, आइसोलेसन, भेन्टिलेटर, अक्सिजन नपुग्ने भएपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने गर्ने तयारीमा मन्त्रालय पुगेको हो ।
संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले लक्षण र स्वास्थ्य अवस्था हेरेर उपचार गर्ने तयारी गरेको छ ।
अब कोरोना पोजिटिभ देखिएका सबैलाई अस्पतालमा राखिने छैन । पहिलो चरणमा २ हजारलाई अस्पतालमै राखेर उपचार गर्ने सरकारको योजना थियो । दुई हजार नाघेपछि थप रणनिति बनाउन मन्त्रालय लागेको हो ।
अब सबै संक्रमितका लागि अस्पतालमा बेड नपुग्ने भएकाले लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै राख्ने सरकारको योजना छ ।
मन्त्रालयले संक्रमितको संख्या ५ हजार नाघेपछि सामान्य लक्षण देखिएकालाई घरमै राखिने गरि कार्यदिशा बनाएको छ ।
प्रधानमन्त्री ओली लकडाउनको विकल्पमा के गर्न सकिन्छ भन्ने विषयमा पनि विज्ञसँग राय सुझाव लिएका छन् ।