पश्चिम रुकुमको हत्याकाण्डको विरुद्ध पोखरामा खबरदारी सभा
पोखरा, जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको सन्दर्भ र पश्चिम रुकुममा गत जेष्ठ १० गते भएको नरसंहारकारी घटनामा परी ज्यान गुमाएका ६ जना युवाहरुको सम्झनामा पोखरमा श्रद्धाञ्जली तथा खबरदारी सभा गरिएको छ ।
पोखराको लखनचोकमा भएको कार्यक्रम कास्की जिल्लामा सक्रिय राजनीतिक दलित संघ, संगठन र संस्थाहरुको संयुक्त आन्दोलन संयोजन समिति कास्कीको आयोजनामा भएको थियो ।
सभाका नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय इन्चार्ज, दलित आन्दोलनका अग्रज नेता केशबहादुर परियारले सभालाई सम्बोधन गर्दै नेपाली जनताको लामो संघर्ष पछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए तापनि पुरानै ब्रम्हाणवादी सोच र चिन्तनद्वारा निर्देसित तथा हिन्दु उच्च जातीय अहंम्कारवादमा आधारित सामन्ती ब्रम्हाणवादी राज्यसत्ताले वर्गीय, जातीय, लिंगीय र सास्कृतिक शोषण उत्पीडन तथा अत्याचार अहिले पनि गर्दै आइरहेको बताए ।
उनले त्यसैको जोलन्त उदाहरण रुकुम पश्चिमको बर्बरतापूर्ण हत्याकाण्ड बताए।
संवैधानिक रुपमा बर्जित भईसकेको जातीय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिदै आजको सभ्य एवं उन्नत समाजमा एउटा केटा र केटीबीच एक आपसमा लामो समयदेखि प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने सहमति अनुसार अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा दलित भएकै कारणले ज्यानै गुमाउनु पर्ने घटना अत्यन्तै निन्दनीय भएको बताए।
दलित नेता परियाले उक्त घटनाले गणतन्त्रको धज्जी उठाएको बताउँदै उक्त घटनाले संविधान र कानुनको ठाडो उल्लंगन भएको र अन्तराष्ट्रिय मानव अधिकारको स्थितिलाई समेत चुनौती दिएको बताए ।
उनले भने – जबसम्म समाजमा यस्ता खाले वर्गीय, जातीय, लिंगीय र सास्कृतिक शोषण उत्पीडन तथा अत्याचारहरु रही रहन्छन तबसम्म न त देशमा बिकाश सम्भब छ न त जनताले नै शुख र शान्तिको अनुभव गर्न पाउने छन् ।
यसैबीच कास्की जिल्लामा सक्रिय राजनीतिक दलित संघ र संगठन र सस्थाहरुको संयुक्त आन्दोलन संयोजन समिति कास्कीले रुकुम घटना लगायत देशैभरी घटेका जातीय विभेद र छुवाछुतसँग आधारित ६ वटा माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई बुझाएको संयोजन समितिका संयोजक दुर्गा बहादुर सुनारले बताए ।
दुर्गाबहादुर सुनाको अध्यक्षतामा भएको सभामा दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश संयोजक भिम बिस्वकर्मा लगायत कास्की जिल्लाका नेताहरुले बोलेका थिए।

