डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि
बाजुरामा क्वारेन्टाइनमा १ जनाको मृत्यु, कोरोना परीक्षण हुने
२४ जेठ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वषर्ीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।
उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।
उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
बाजुरामा क्वारेन्टाइनमा १ जनाको मृत्यु, कोरोना परीक्षण हुने
बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ को क्वारेन्टाइनमा १ जनाको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो ।
शुक्रबार साँझदेखि खाना नखाएका उनको राती मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका-७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए ।
गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले जानकारी दिए । मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र १५ जेठ मात्र गाउँमा आएको वडाध्यक्ष रावतले जानकारी दिए ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।
