पश्चिम नवलपरासीमा बजार अनुगमन गर्न माग




परासी । उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले बजार अनुगमन शुरु गर्दै प्रभावकारी बनाउन सम्बन्धीत निकायको ध्यानाकषर्ण गराएको छ ।
मञ्चले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक तथा सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकारी जोरासिंह माझीलाई भेटर बजार अनुगमन कार्य अघि बढाउन ध्यानाकर्षण गराएको हो ।
लकडाउनको मौका छोपी कृत्रिम अभाव र कालोबजारी कार्य बढीरहेकोले तत्काल बजार अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउन माग गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताए ।
कोरोना भाईरसका कारण जनजीवन आतंकीत भईरहेका बेला व्यवसायीहरुले दैनिक उपभोग्य लगायत अत्यावश्यक वस्तुहरुको मनपरी मूल्य बढाउँदा उपभोक्ता मारमा परेको उनको भनाई छ ।
हालै नेपाल सरकारले बजार अनुगमनका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई निरीक्षण अधिकृत तोकेकोले बजार व्यवस्थापन र अनुगमनलाई थप चुस्त बनाउनुपर्नेमा आफूहरुले जोड दिएको केन्द्रीय सदस्य ज्ञवालीले बताए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन२०७५ को दफा ३२ को उपदफा १ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ को नियम २१(२)मा भएको व्यवस्था बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी ÷प्रशासकीय अधिकृतहरुलाई निरीक्षण अधिकृत तोकेको छ ।
हाल अत्यावश्यक वस्तु मास्क, सेनिटाईजर, औषधी, खाद्यन्न लगायतका वस्तुमा अत्याधिक मूल्य बढाइएकोले तत्काल बजार अनुगमन गर्न आग्रह गरिएको उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं. ५ का सदस्य धनञ्जय पौडेलले बताए । बजारमा अत्यावश्यक लगायत हरेक क्षेत्रमा अचाक्ली बढेको मूल्यवृद्धि रोक्न तत्काल उचित कदम चाल्न मञ्चका जिल्ला अध्यक्ष रामचन्द्र पौडेलले माग गरे ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बजार अनुगमनको कार्यलाई छिट्टै अघि बढाउने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले आफूले जिल्लाको बजारको अवस्था बुझ्ने काम गरिसकेकोले पहिलो चरणमा सुधारन्मुख बजार अनुगमन गर्ने तयारी गरेको जानकारी दिए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, प्रदेश सदस्य धनञ्जय पौडेल, जिल्ला संयोजक रामचन्द्र पौडेल, जिल्ला सहसंयोजक सम्झना चौधरी, जिल्ला सचिव मोहन पौडेल, जिल्ला कोषाध्यक्ष धु्रवराज ज्ञवाली, रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदी लगायतको टोलीले उक्त ध्यानाकर्षण गराएको हो ।



सम्बन्धित
Loading...