कावासोतीका आवासीय विद्यालयले दिएनन् क्वारेन्टाइन राख्न भवन
कावासोती, ५ असार । पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइन अव्यवस्थित भएको भन्दै गुनासो बढेपछि एकीकृत क्वारेन्टाइनका लागि भवन खोज्दा नपाइएको कावासोती नगरपालिकाले जनाएको छ ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति कृतनराज पौडेलले एकीकृत क्वारेन्टाइनका लागि नगरपालिकाले भवन खोजे पनि नपाइएको बताए ।
कावासोतीमा लुम्बिनी कलेज, कुमारवर्ती कलेज, मध्यविन्दु कलेज ३ वटा कलेजका साथै केही संस्थागत आवासीय विद्यालयहरु एकीकृत क्वारेन्टाइनका लागि उपयुक्त रहेका छन् । उक्त भवनहरुमा एक हजार भन्दा बढीलाई एउटै भवनमा क्वारेन्टाइनमा राख्न सक्ने क्षमताका रहेका छन् ।
यस अघि नेपालमा कोरोनो संक्रमण शुरुवाती अवस्थामा रहँदा कावासोतीको शिद्धार्थ आवासीय मावि, गण्डकी आवासीय मावि, सेन्टजोसेफ आवासीय मावि र डण्डाको नवलपुर एकेडमीले आफ्नो भवन क्वारेन्टाइनका लागि दिने घोषणा नै गरेका थिए । उनीहरु मध्ये कतिपयले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गरेका थिए त कतिपयले सञ्चारमाध्यमहरुको प्रयोग गरेर घोषणा गरेका थिए ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले यस विषयमा त्यस्ता निजी आवासीय विद्यालयहरुसँग छलफल गरिएको भए पनि उनीहरुले सामुदायिक विद्यालयमा नअटेको खण्डमा मात्र दिने भन्दै तर्किने गरेको बताए ।
कावासोती नगरपालिकाका नगर उपप्रमुख एवम् कोभिड १९ व्यवस्थापन समिति कावासोतीका संयोजक प्रेमशंकर मर्दनियाले यस विषयमा पटक पटक छलफल भए पनि आवासीय विद्यालयका सञ्चालकहरुले घोषणा गरे जसरी क्वारेन्टाइन दिन आनाकानी गरेको बताए ।
कावासोतीका आवासीय विद्यालयका सञ्चालकहरुले भने आफूहरु आवासीय विद्यालयलाई क्वारेन्टाइनका लागि दिन तयार रहे पनि नगरपालिकाले निर्णय ढंगले छलफल अगाडि बढाउन नसकेको कारण कावासोतीका निजी विद्यालयहरु क्वारेन्टाइनको रुपमा प्रयोगमा आउन नसकेको बताएका छन् ।
कावासोती नगरपालिकामा अहिले कु्मारी निजी शैक्षिक गुठीको भवन, प्रस्ताविन कुमारी अस्पताल लगायत वडा वडामा रहेका सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिदै आएको छ ।
वडा वडामा क्वारेन्टाइन राख्दा क्वारेन्टाइनको सुरक्षा, क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य सुरक्षा लगायतका चुनौतीहरु देखिएका छन् ।
त्यसैगरी एकीकृत क्वारेन्टाइन नहुँदा फरक फरक मितिमा क्वारेन्टाइनमा बस्न आएकाहरुलाई पनि एउटा कोठामा राख्नु पर्ने बाध्यता बढेको छ । जसले गर्दा क्वारेन्टाइनै कोरोना संक्रमण बढाउने स्थल बन्न थालेको छ ।
