कोरोना संक्रमण निको पार्ने औषधि आउँदै
एजेन्सी । कोरोनाको विश्वब्यापी महामारीबाट आक्रान्त सिंगो विश्व यतिखेर केवल यसको निदानको खोजीमा केन्द्रित छ । यसका लागि विश्वका विभिन्न मुलुकमा थुप्रै प्रयासहरु पनि भैरहेका छन । तर पनि पूर्ण समाधानसहितको उपाय वा औषधि अझैसम्म प्राप्त हुन सकेको छैन । तर भारतको एक औषधि कम्पनीले कोरोना संक्रमितलाई निको पार्ने दावी गर्दै एक औषधि बजारमा ल्याउने दावी गरेको छ ।
भारतको ग्लेनमार्क फर्मास्युटिकल्स कंपनीले कोरोना संक्रमणको सुरुवाती चरणका विरामीलाई निको पार्न सक्ने औषधि बनाएको दावी गरेको हो । कम्पनीले फेबीफ्लु ब्राण्डको फेविपिराविर नामक एन्टी भायरल औषधि बनाएको बताएको हो । भारतीय औषधि महानियन्त्रक (डीजीसीआई) द्वारा उत्पादन अनुमति पाएको यो औषधिले प्रयोगका लागि पनि अनुमति पाइसकेको छ ।
ग्लेनमार्क फर्मास्युटिकल्स कंपनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक ग्लेन साल्दान्हाले यो औषधिले कोरोना संक्रमणको उच्च गतिलाई कम गर्नमा सहयोग पुर्याउने दावी गरेका छन । उनका अनुसार फेविपिराविर औषधिको क्लिनिकल परीक्षणका बेला राम्रो नतिजा आएको थियो ।
यो औषधिको मुल्य भारु १०३ रुपैया प्रति ट्यब्लेट रहेको छ । ३४ वटा ट्याब्लेट रहेको एक फाइल औषधिका लागि भारु साढे तीन हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । २०० मिलिग्राममा उपलब्ध हुने यो ट्याब्लेटको १४ दिनको डोजका लागि लगभग भारु १४ हजार रुपैयाँ लाग्नेछ ।
यो औषधिको प्रयोगका लागि चिकित्सकहरुले बताए अनुसार पहिलो दिन १८०० एमजीका दुई खुराक लिनु पर्छ भने १४ दिनसम्म ८०० एमजीको दुई दुई खुराक लिनुपर्छ । ग्लेनमार्क फर्मास्युटिकल्सले जनाए अनुसार कोरोना संक्रमणको सुरुवाती चरणका बेला प्रयोग गरिने यो औषधि मधुमेह र मुटुको रोगबाट पीडित भएका संक्रमितहरुका लागि पनि लाभदायक हुन्छ ।
केवल चिकित्सकको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुपर्ने भनिएको फेविपिराविर औषधि १८ देखि ७५ बर्ष उमेरका संक्रमितले प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी किड्नी र लिभरका गंभीर विरामी एवं गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि यो औषधि प्रयोगमा निषेध गरिएको छ ।
सोमबारदेखि बजारमा आउने दावी गरिएको फेविपिराविर औषधि विभिन्न अस्पताल र खुद्रा विक्रेताहरुको माध्यमबाट वितरण गरिने ग्लेनमार्क फर्मास्युटिकल्स कंपनीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ ।