नवलपुर भित्रका उद्योगहरु संचालनका लागि सहजीकरण गरिदिन माग


नवलपुर उद्योग संघले जिल्ला भित्र रहेका उद्योगहरु संचालनका लागि सहजीकरण गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
कोभिड–१९ को कारणले वन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्न सहजीकरण गरिदिन जिल्लाका पालिकाहरुलाई संघले आग्रह गरेको हो ।
संघको आज बसेको बैठकले पालिकाले लिने कर, राजस्वमा विशेष सहुलियत प्रदान गर्न समेत पालिकाहरुलाई आग्रह गर्ने निर्णय गरेको नवलपुर उद्योग संघका महासचिव केबी रानाले जानकारी दिए ।
रानाका अनुसार स्थानीय पालिकाहरुले आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्दा यस कोभिड–१९को कारणले वन्द रहेका उद्योग सञ्चालनमा सहज वातावरण निर्माणका लागि पहल गर्न आग्रह गर्ने निर्णय समेत भएको छ ।
त्यसैगरि जिल्लामा रहेका उद्योगहरुमा काम गर्ने विस्थापित जनशक्ति, पुन फर्कने सम्भावना, अन्यलाई रोजगारी दिन सक्ने सम्भावनाको विषयमा अध्ययन गर्ने, आगामी दिनमा उद्योगलाई आवश्यक जनशक्ति छनौट गर्दा स्थानीयलाई प्राथामिकता दिने, जिल्लामा उपलब्ध हुने सम्भावित जनशक्तिका बारेमा स्थानीय पालिकाहरुसंग तथ्याङ्क माग गर्ने, अर्धदक्ष जनशक्तिलाई दक्ष बनाउन तालिम प्रदान गर्ने विषयमा स्थानीय पालिकासंग साझेदारी गर्ने निर्णय गरेको छ ।





सम्बन्धित
Loading...