विश्वमा कोरोना संक्रमित एक करोड नाघे, आधाभन्दा बढी भए निको


विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या एक करोड नाघेको छ।



समाचार संस्था एएफपीका अनुसार आइतबारसम्म विश्वभरि कोरोना संक्रमण हुनेको संख्या एक करोड १० लाख आठ हजार ७ सय ३८ पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या पनि पाँच लाख एक हजार आठ सय ६८ पुगिसकेको छ।

संक्रमितको संख्या तीव्र गतिमै बढिरहँदा उपचार भइ घर फर्किनेको संख्या पनि बढिरहेको छ।




अहिलेसम्म संक्रमितको आधाभन्दा बढीले निको भएर घर फर्किसकेका छन्। संक्रमितको संख्या एक करोड कट्दा ५४ लाख ८० हजार आठ सय ७७ संक्रमित निको भएर घर फर्किएका हुन्।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित भएको राष्ट्र अमेरिका हो। त्यहाँ २५ लाख ९६ हजार सात सय ७१ संक्रमित छन् भने एक लाख २८ हजार एक सय ५२ जनाले ज्यान गुमाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा धेरै संक्रमित देखिनुको कारण भने परीक्षणको दायरा धेरै भएकोले हो भन्ने बताउँदै आएका छन्।

अमेरिकापछि बढी संक्रमित ब्राजिलमा छन्। त्यहाँ अहिलेसम्म १३ लाख १५ हजार ९सय ४१ संक्रमित छन् भने ५७ हजार एक सय तीनले ज्यान गुमाएका छन्।

गत डिसेम्बरमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको चीनमा भने अहिलेसम्म संक्रमितको संख्या ८३ हजार पाँच सय छ। मृत्यु हुनेको संख्या चार हजार ६ सय ३४ छ।

छिमेकी राष्ट्र भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र गतिमा बढीरहेको छ। अहिले सबैभन्दा बढी संक्रमित राष्ट्रमध्ये भारत चौथो स्थानमा छ। त्यहाँ आइतबारसम्म पाँच लाख ३० हजार नौं सय २४ जनामा संक्रमण देखिएको छ। १६ हजार एक सय २४ले ज्यान गुमाएका छन्।

नेपालमा आइतबारसम्म १२ हजार ७ सय ७२ जनामा संक्रमण देखिएको छ। तीमध्ये ३ हजार १३ जना निको भएका छन् भने २८ जनाले ज्यान गुमाएका छन्।



सम्बन्धित
Loading...