नवलपुरमा एसईईको आन्तरिक मूल्यांकन सकियो
नवलपुर। पूर्वी नवलपरासी जिल्लामा माध्यामिक शिक्षा परीक्षा (एसईई)को आन्तरिक मूल्यांकनको काम सकिएको छ ।
जिल्लाका सबै विद्यालयहरुबाट आन्तरिक मूल्यांकन पठाइसकेको र जिल्ला शिक्षा समन्वय इकाइले पनि त्यसको रुजु गर्ने काम सम्पन्न गरिसकेको इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
गत चैत ६ गते गर्ने तयारी गरिएको एसईई एक दिनअघि स्थगित गरिएको थियो । विश्वब्यापी बनेको कोरोना भाइरस संक्रमण फैलिने डरले सरकारले परीक्षा शुरु हुनुभन्दा एक दिनअघि स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो ।
नवलपुरबाट ७८ वटा सामुदायिक, ४९ वटा निजी, ५ वटा प्राविधिक र एउटा खुल्ला विद्यालय गरी एक सय २८ वटा विद्यालयका ६ हजार ५ सय ४२ विद्यार्थी एसईईको तयारीमा थिए । .
जसमध्ये, नियमिततर्फ ६ हजार चार सय ५२ र एक्जाम्टेटतर्फ १ सय ९ जना छन् ।
एसईई परीक्षाका लागि नवलपुरमा २५ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
कोरोनाले ठप्पै
यसैबीच, कोरोना भाइरसका कारण यो वर्ष नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुन सकेका छैनन् । गत वर्ष चैत ५ गतेदेखि देशैभरका सबै विद्यालयहरु बन्द रहेका छन् । लामोसमयदेखि विद्यालय सञ्चालन गर्न नसकिएपछि वैकल्पिक शिक्षाको बारेमा विभिन्न छलफल हुनुका साथै दूर अनलाइनबाट दूर शिक्षा सञ्चालन गरिएका छन् । अनलाइन तथा रेडियो, टेलिभिजनबाट सञ्चालन हुने दुर शिक्षा विद्यार्थीका लागि प्रभावकारी नभएको अभिभावकबाट गुनासो उत्तिकै आएका छन् । तर यसको विकल्प नभएको शिक्षा अधिकारीहरु बताउँछन् ।
जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख कृष्णचन्द्र पोखरेललाई अहिले विद्यार्थीको अवस्था र शिक्षकको भूमिका कस्तो रहेको छ भनी हाम्रा साथी राधिका भुसालले सोध्नु भएको छ ।