ठोरीका ह्राम !
लिलाराज खतिवडा जानकारहरु भन्छन्, केही दशक अघिसम्म जतिबेला संचारका लागि हुलाकको सर्वेसर्वा थियो; कहिलेकाँही इटाली पठाइएका चिठ्ठीहरु नेपाल आइपुग्थे । र, नेपाल पठाइएका कतिपय चिठ्ठीहरु इटाली पुग्थे ।
कसरी?
दक्षिण इटालीमा एउटा नेपल्स भन्ने शहर छ । जसलाई इटालियन भाषामा नेपोली भनिन्छ । त्यसैकारण अन्य मुलुकबाट नेपोली पठाइएका कतिपय चिठ्ठीहरु नेपाल आउँथे । अनि त्यसरी नै नेपाल पठाइएका चिठ्ठीहरु चाहिँ नेपोली पुग्थे । त्यो जमानामा जतिबेला दुनियाँले हाम्रो नेपाल खासै चिनेको थिएन, त्यस्तो हुनु स्वाभाविकै थियो ।
अत्याधिक उच्चारण मिलेको यसै आधारमा म पनि भन्दिउँ कि नेपाल इटालीमा पर्छ?
वा यो पनि भन्दिउँ कि इटाली नेपालमा पर्छ ? तर म त्यसो भन्नेवाला छैन । बरु म पनि के भन्छु भने, राम नेपालमा नै जन्मिएका हुन् । नेपाल महापुरुषहरु जन्माउने उर्वर भूमि हो । शिव, बुद्ध, अरनिको, भृकुटी यहीँ जन्मिएका हुन् । अझ प्राचिनकालमा त नेपाल ऋषिमुनि र ज्ञानी पुरुषहरुको सर्वाधिक लोकप्रिय स्थान थियो । यहाँको पन्चतत्व नै ज्ञान जगाउने किमियाले ओतप्रोत छ । अन्तबाट पनि कैयौँ ज्ञानीजनहरु नेपाल आएर विभिन्न ठाउँमा सम्मानसाथ बसेकै हुन् । नागार्जुन, चन्द्रागिरी, शिवपुरी, खप्तड यस कुराका ज्वलन्त उदाहरण हुन् । पर्वतका नाम र ज्ञानी पुरुषका नाम आज यहाँ पर्याय भएका छन् । त्यसैले राम नेपालमा जन्मिएका थिए भन्नु के गलत भयो? यो बेग्लै कुरा हो कि केही हजार वर्ष पहिले नेपाल वा भारत अलगअलग अस्तित्व राख्दैन थिए । त्यतिबेलाको भाषा, रहनसहन, शासनशैली र भूभागका स्वामित्वहरु नितान्त फरक थिए । हजारौँ वर्षअघिको मिथकको प्रसंग तानेर आज वादविवाद वा झगडै गर्नु कति उचित अनि कति अनुचित होला?
एकातिर वर्तमानमा रामको जन्मभूमि एक चरम विवादको विषय भएको छ । भारतको सुप्रीम कोर्टले राम जन्मभूमिको निर्क्यौल गर्दै जे फैसला सुनाए पनि वा जुनसुकै स्थानलाई रामको जन्मभूमि माने पनि सत्य अर्कै हुनसक्छ । यसै पनि भारतको वर्तमान न्यायप्रणालीमा शंका गर्ने प्रसस्तै ठाउँहरु छन् । भारतको न्यायप्रणाली सोह्रै आना भ्रष्ट छ र बिश्वास गर्न लायक छैन । बहकाउ, बिकाउ र बायस पनि छ भारतको न्यायप्रणाली । पण्डित लालबहादुर शाश्त्री त अब त्यहाँ किंवदन्ती भइसके!
अर्कातिर भारतको ज्ञानको दायरा आज निकै फितलो, संकुचित र लिँडेढिप्पीग्रस्त देखिएको छ । जब ऊ दिनदहाडै गौतम बुद्धको जन्मस्थललाई समेत आफ्नो भूभागमा पार्न सक्छ भने उसले हाम्रो मुलुक, हाम्रा धरोहर र संस्कृतिहरुलाई पनि प्रदुषित तुल्याउन सक्छ । प्रधानमन्त्री केपी ओलीको भाषामा त तुल्याइसकेको छ । जमिन हडप्न समेत पछि नपर्ने भारतले नक्कली काम गरेन होला भन्न सकिँदैन । यसै पनि डुप्लिकेटिङ् कार्यमा भारत निकै माहिर छ । ऊ नक्कली बुद्ध वा लुम्बिनी नै खडा गर्न सक्छ भने, अयोध्या त के भयो र ? सिनेमाको सुटिङ्का लागि फटाफट सेट निर्माण गरे जस्तो !
चितवनमा रामका बारे प्रसस्तै प्रमाणहरु भएको आधारमा रामको जन्मस्थान त्यसै वरपर भएको हुनसक्ने प्रमाणहरु ज्युँदै रहेछन् । खोज्दै जाँदा थप प्रमाणहरु पनि भेटिएलान् । बिरगंज नजिकैको ठोरी जसलाई प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अर्थात असली अयोध्या मान्नु र तदनुरुप भाषणबाजीमा उत्रिनु चाहिँ आज अत्याधिक आश्चर्य र आलोचनाको बिषय भएकाले जताततै उदेक महसूस हुने नै भयो । आखिर कुराहरु असरदार छन् पनि ।
रह्यो कुरा, राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीको विवादास्पद अभिव्यक्तिभित्र लुकेको रहस्यमय आशयको । धर्मलाई अफिमको नशा मान्ने कार्ल मार्क्सका अनुयायी प्रधानमन्त्री ओलीले ‘अफिम’ चाखेकै हो त ? कि उनी क्रमश: सठिँदै गएका हुन् ? होशमा त कुटनीतिक खयाल राखेर छिमेकी मुलुकका बारे जे पायो त्यही नबोल्नु पर्ने ! कि उनले दह्रै प्रमाणका आधारमा त्यो सब दावी गरेका हुन् ? नत्र ओली जस्ता चतुर र अनुभवी राजनीतिज्ञले त्यस्तो भद्दा मजाक गर्नु त नहुने हो ।
कि उनी भारतको कट्टर विरोधी मुलुक (जस्तो चीन) का लागि काम गर्छन् ? कि उनी भारतकै लागि काम गर्छन् र घटना एवं राजनीतिलाई अन्यत्र मोड्न तथा कुनै भयंकर षड्यन्त्रलाई अन्जाम दिनका लागि भारतकै निर्देशनमा यस्तो वा उस्तो स्टन्टबाजी गर्छन् ? त्यसो त उनलाई पाकिस्तानका लागि काम गर्ने गरेको आरोप पनि लागेको छ । कसका लागि काम गर्छन् त उनी त्यसो भए ? इमरान खानका लागि कि दाउद इब्राहिमका लागि ? कि सबै आरोपहरुलाई परास्त गर्दै उनी एक बहादुर र स्वाभिमानी नेपाली प्रधानमन्त्रीहरुको अल्पसूचीमा दर्ज हुने अभिप्सामा कुटिल मुस्कान र गुरुगम्भीर भावको समिश्रणमा यो सब बोलिरहेका छन् ?
त्यसो त प्रधानमन्त्री ओली राम जन्मभूमिबारे आफूले दिएको अभिव्यक्तिप्रति आफ्नै मुलुकमा यति धेरै आलोचित हुनुपर्ने कारण अरु पनि छन् । उनी धर्मनिरपेक्ष संविधानका बहालवाला प्रधानमन्त्री हुन् । मुलुकमा हिन्दुत्वको रक्सी फेरेर धर्मनिरपेक्षताको बोतलमा भर्ने कार्यका एक सदस्य समेत रहेका उनले आज आएर अचानक राजनीतिमा धर्म किन मिसाउन खोजे ? वा धर्मको कुनै विवादित नजिर पेश गरेर उनले किन भारतसँग थप राजनीतिक खेल खेल्न वा पंगा लिन मन पराए ? कि यहाँ रक्सी होइन केवल बोतल फेरिएको थियो ? कि बोतल होइन केवल रक्सी फेरिएको थियो ? कि दुबै फेरिएको थियो ? कि केही पनि फेरिएको थिएन ? कि केवल मुलुकलाई एक राजनीतिक प्रयोगशाला बनाएर जनतालाई ‘गिनी पिग’ तुल्याइएको थियो वा छ ? नत्र हिन्दु धर्म मासेर कमनिस्टहरु नेपालमा फेरि किन धर्मको घाउ बल्झाइरहेका छन् ? वा नयाँ घाउहरु आरोपित गरिरहेका छन् ?
कि पत्रकार किशोर नेपालले केही वर्षअघि यस लेखकसँगको अन्तर्वार्तामा भने जस्तै त भइरहेको छैन ? के नेपालमा अब कम्युनिज्म लादिँदैछ भन्ने आशयको प्रश्नको जवाफमा उनले भनेका थिए, नेपालका कमनिस्टहरु यहाँ कम्युनिज्म लाद्नुको सट्टा बरु हिन्दु धर्म नै फर्काउनेतर्फ लाग्न सक्छन् । कमनिस्टहरुको कुनै भरोसा हुँदैन । उनीहरु प्रपोगाण्डामा बिस्वास गर्छन् । उनीहरुको कुनै राष्ट्रियता पनि हुँदैन ।
त्यसो त राजनीति सपाट हुँदैन ।
