नवलपुरमा प्रहरीमा पनि देखियो कोरोना, समुदायमा सरेको आशंका
नवलपरासी । पूर्वी नवलपरासीमा विहीबार ५ जना प्रहरीमा कोरोना भाइरस पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा विहीबार पाँच जना प्रहरी सहित असार ३० गते गैडाकोटको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेकाको साथै सुरक्षाकर्मीको समेत स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा ५ जना प्रहरी सहित १८ जनामा पोजेटिभ आएको हो ।
प्रहरीमा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय गैडाकोटमा कार्यरत प्रहरीले छुट्टै आईसोलेसनमा राखि गैडाकोटमा अन्य क्षेत्रबाट जनशक्ति पठाइने तयारी भईरहेको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
संक्रमितहरुलाई थप उपचारका लागि रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा पठाउने तयारी भईरहेको छ ।
आज देखिएका संक्रमित मध्ये ५ जना महिला र १३ जना पुरुष रहेका छन् । पाँच जना प्रहरी बाहेक अरु बाहिरी देशबाट आएर होम क्वारेन्टाइनमा क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य प्रमुख केशव चापागाईले बताए ।
प्रहरी र होम क्वारेन्टाइनमा बसेकोलाई समेत देखिएपछि गैडाकोटमा समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
https://www.youtube.com/watch?v=AOpwh72wwqo
गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले गैडाकोटमा कोरोना संक्रमण समुदायमा फैलिएको हुन सक्ने भन्दै सोही अनुसार तयारीमा जुट्न थालिएको बताए ।
स्वास्थ्य प्रमुख चापागाईले इलाका प्रहरी कार्यालय गैडाकोटमा विहीबार नै अन्य सुरक्षाकर्मीको स्वाब संकलन गर्ने तयारी भएको बताए । प्रहरीमा कहाँबाट र कसरी सर्यो यकिन नभएको उनले बताए ।
