भुताहाको पञ्चनगर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु


बिपि ढकाल  –




बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको पञ्चनगर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ ।
स्वास्थ्यचौकीमा आधारभुत सेवा लिनका लागि पुगेका विरामीहरुलाई ल्याव टेष्ट गर्नुपरेमा बर्दघाट पुग्नुपर्ने समस्या रहेकोमा गाउँमै स्वास्थ्यचौकीमै प्रयोगशाला सेवा उपलब्ध भएपछि सेवा सहज भएको स्थानीयले बताएका छन् ।
प्रयोगशालाको बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै शर्माले बर्दघाट नगरपालिका भित्रका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिका लागिपरिरहेको बताए ।
उनले बर्दघाट नगरपालिकाले १६ बटै वडामा स्वास्थ्य चौकी संचालन गर्ने गरी काम अगाडि बढाएको बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाईले पञ्चनगर स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन गर्नका लागि वडा कार्यालयले आर्थिक बर्ष २०७६÷०७७ मा ३ लाख बजेट विनियोजन गरेको बताए ।
चापागाईले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा गुणस्तरीय बनाउन र नागरिकहरुलाई सहज रुपमा सेवा लिने वातावरण मिलाउन वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पञ्चनगर स्वास्थ्य चौकीका ईञ्चार्ज बाबुराम तिमिल्सिनाले स्वास्थ्यचौकीको प्रयोगशालाबाट तत्काल आधारभुत स्वास्थ्यसेवा अन्तरगत २८ किसिमको परिक्षण हुने बताए ।
उनले आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क परीक्षण गरिने र अन्यका लागि न्यूनतम शुल्कमा परिक्षण गर्ने गरी व्यवस्था मिलाईएको बताए ।
वडा कार्यालयले उपलब्ध गराएको ३ लाख रुपैँको बजेटबाट आवश्यक उपकरण, केमिकल तथा फर्निचर ब्यबस्थापनको काम गरिएको हो ।
कार्यक्रममा स्वास्थ्यचौकी ब्यबस्थापन समितिका सदस्य पुष्पराज अधिकारीको स्वागत मन्तब्य रहेको थियो भने स्वास्थ्य चौकी ईञ्चार्ज बाबुराम तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।



सम्बन्धित
Loading...