रत्ननगरमा राजस्व संकलन : लक्ष्य १२ करोड, संकलन ६ करोड


 रत्ननगर नगरपालिकामा लक्ष्यभन्दा ५० प्रतिशत कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ मा १२ करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको सो नगरपालिकाले असार मसान्तसम्म ६ करोड ३४ लाख रूपैयाँमात्र राजस्व संकलन गरेको पाइएको छ ।



सो नगरपालिकाले १९ वटा शीर्षकमा ६ करोड ३४ लाख ११ हजार ५३१ रूपैयाँ राजस्व संकलन गरेको हो । यो रकम आर्थिक वर्ष २०७५/७७ मा संकलन भएको राजस्वभन्दा करिब २ करोड कम हो । ११ करोड संकलन गर्ने लक्ष्य लिइएको सो आर्थिक वर्षमा ८ करोड १७ लाख ५६ हजार रूपैयाँ संकलन भएको थियो ।

राजस्व संकलनको लक्ष्य प्राप्तिका लागि सो नगरपालिकाले अभियान सञ्चालन गरेको भए पनि त्यसले सार्थकता पाउन सकेन । राजस्व संकलन अभियानअन्तर्गत घरदैलो कार्यक्रम गरिएको थियो । तर, व्यवसायीहरु करको दायरामा नआउँदा राजस्व संकलन कम भएको हो ।




कोरोना भाइरसको प्रभाव र व्यवसायीहरु करको दायराभन्दा बाहिर रहेका कारण अपेक्षाकृत राजस्व संकलन हुन नसकेको राजस्व परामर्श समितिकी संयोजक तथा उपमेयर विमला दुवाडीले बताइन् । ‘हामीले विगत तीन वर्षदेखि व्यवसायीलाई करको दायरामा ल्याउन प्रयत्न गरिरहेका छौँ’, उनले भनिन्, ‘तर बाध्यकारी अवस्था सृजना गर्न सकेनौँ ।’

आर्थिक वर्ष २०७६/७७ मा सो नगरपालिकाले सबैभन्दा धेरै सम्पत्ति करमा २ करोड ३ लाख, व्यवसाय रजिष्ट्रेसन दस्तुरबापत १ करोड १ लाख, सिफारिस दस्तुरमा ९९ लाख ३९ हजार, घरबहाल दस्तुरमा ८२ लाख ११ हजार, अन्य दस्तुरमा ४४ लाख ४१ हजार, प्रशासनिक सेवा शुल्क ९ लाख ५ हजार, प्रशासनिक दण्ड, जरिवाना र जफतमा ३ लाख ७४ हजार संकलन भएको छ ।

त्यसैगरी, अन्य सेवा शुल्क ५ लाख २९ हजार, नाता प्रमाणित दस्तुरमा १ लाख २९ हजार, व्यक्तिगत घटना दर्ता दस्तुरमा १ लाख ९४ हजार, अन्य राजस्वमा १ लाख ५९ हजार, भूमिकर तथा मालपोतमा ५४ हजार, सहकारी सम्पत्ति बहालबाट प्राप्त आयबाट ९५ हजार, अन्य कर ६८ हजार, एफएम सञ्चालन दस्तुर ३० हजार, न्यायिक दस्तुर १५ हजार, बाँडफाँटबाट हुने विज्ञापन कर ९ हजार रूपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए ।

वडागतरुपमा राजस्व संकलनलाई हेर्दा वडा नं–१ राजश्व संकलनमा अब्बल देखिएको छ । आर्थिक वर्ष २०७५/७७ मा राजस्व संकलनमा पहिलो भएको वडा नं–६ लाई उछिन्दै वडा नं–१ अहिले पहिलो भएको हो ।

वडा नं–१ ले ६० लाख ५७ हजार राजस्व संकलन गरी पहिलो भएको छ भने वडा नं–२ ले ५९ लाख संकलन गरी दोस्रो हुन सफल भएको छ । ४८ लाख ७७ हजार राजस्व संकलन गरी वडा नं–६ तेस्रो भएको छ । वडा नं–६ मा पर्यटकीय नगरी सौराहा पर्दछ । लकडाउनका कारण सौराहाको पर्यटन बन्द भएपछि सो वडाले अपेक्षाकृत राजस्व संकलन गर्न नसकेको हो ।

व्यवसायीहरु करको दायरामा नआएका कारण रत्ननगर नगरपालिकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको बताइएको छ । बजार क्षेत्रका ६० प्रतिशत साना व्यवसायीहरु करको दायरामा आएका छैनन् । कर संकलनमा नगरपालिकाका कर्मचारीहरुको सक्रियता नहुनु र नीतिगत व्यवस्था व्यवसायी र नगरवासीकेन्द्रित नभएका कारण अपेक्षाकृत राजस्व संकलन हुन नसकेको हो ।

अर्थ विज्ञ सुरेन्द्रनाथ रेग्मीले रत्ननगरले करदातामैत्री कार्यक्रम ल्याउन नसकेका कारणले कर संकलनको लक्ष्य पूरा गर्न नसकेको बताए । मेयर नारायण वनले राजस्व संकलन कम हुँदा विकास निर्माणमा असर परेको बताए । ‘कर तिरेमात्रै नगरको विकास हुन्छ भन्ने भावना करदातामा पनि हुन जरूरी छ’, उनले भने, ‘कर संकलनका लागि प्रयत्न गर्दागर्दै पनि हामी सफल हुन सकेनौँ ।’

 

 

https://www.youtube.com/watch?v=6PI5ro-aMZI&t=132s



सम्बन्धित
Loading...