लकडाउन हट्यो, आजबाट के गर्न पाइन्छ के पाइँदैन ?
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउन गएरातिबाट अन्त्य भएको छ।
साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।
लकडाउन अन्त्य भएसँगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य हुनेछ भने कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।
यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।
साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रेकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न पाइने छैन।
यस्तै, विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू पनि बन्द नै रहनेछन्।
संक्रमण बढे खुला गरिएका क्षेत्र पुनः बन्द गर्न सक्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।