‘समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलाल श्रेष्ठप्रति सम्मान’

आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताए । उनले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदान कहिल्यै भुल्न नहुने बताए ।
“ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक पुष्पलाल हुनुहुन्छ”, उनले भने, “पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले देशको संविधान निर्माण गरेका छौँ । नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला पार्टीहरुलाई एकीकृत गरेर सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गरेका छौँ ।”
यसैबीच नेकपाका अर्का वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु सधैँ मार्गदर्शनका रुपमा रहेको बताएका छन् ।
दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर संस्थापक महासचिव पुष्पलालको सपनालाई साकार मात्र नपारेको बताउँदै नेता नेपालले नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदानसमेत दिएको बताएका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टीलाई अझै बलियो र विधि–पद्दतिमा आधारित बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।
आजकै दिन भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतलामा उपचारका क्रममा निधन भएको थियो ।
उनको सक्रियतामा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो । आज देशभरि विभिन्न कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाउन थालिएको छ ।