बिश्व बजारमा सुनकाे मूल्य ९ वर्ष यताकै छलाङ
काेभिड-१९ काे महारीकैबीच खुल्न थालेकाे अर्थतन्त्रकाे प्रभाव सुनकाे काराेबारमा देखा पर्न थालेकाे छ । समस्या पर्दा खाँचाे टार्न मिल्ने र साैन्दर्य गहनाकाे रूपमा प्रयाेग हुँदै आएको सुनको मूल्य विश्व बजारमा नै ९ वर्ष यताकै उच्च हुन पुगेकाे छ ।
बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा यो हप्ता मात्र ४.२ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ८८८ डलरमा पुगेको छ । जुन सेप्टेम्बर २०११ पछिको उच्च मूल्य हो। यससँगै हालसम्मकाे उच्च मूल्य (प्रति अउन्स एक हजार ९२० डलर) सँगकाे दूरी साँघुरिँदै गएकाे छ ।
कोरोना महामारीको अनिश्चितता, अमेरिका र चीनका बीचको तनाव र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लगानीकर्ताहरु सुरक्षित लागनीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्यमा अत्याधिक वृद्धि भइरहेको बताइएको छ ।
यसैगरी, कोरोनाको कारणले अन्य लगानीको क्षेत्र नभएको र बजार अस्थिर र अनिश्चित भइरहेको कारण सुनको भाउ बढ्दै गएको हो ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपालको सुन बजारमा पनि देखिएको छ । नेपालमा पनि सुनको मूल्यले दिन–प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ । नेपालमा यस साता मात्र सुनको मूल्य ३ हजार ३०० रुपैयाँले बढिसकेको छ ।
नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । बिहिबार तोलामै ९४ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि १३ सयले बढेर हालसम्म कै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३६५ पुगेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज बढेर प्रतितोला ११५० पुगेको महासंघले जनाएको छ ।