न्याय नपाएपछि सेनाका कुटाईबाट मारिएका चेपाङ युवकको शव उठेन




चितवन, साउन ११–

सेनाको कुटाईबाट मारिएका चेपाङ युवकको शव अझै उठ्न सकेको छैन । बुधबार राती भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पूर्वीचितवन राप्ती नगरपालिका मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको शव भरतपुर अस्पतालको शव गृहमा रहेको छ ।




पीडित परिवारले शव बुझ्न नमानेपछि उनको शवको पोष्टमार्टम भएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले पोष्टमार्टमका लागि प्रहरीले अस्पतालले पत्र पठाइ सके पनि आफन्त बुझ्न नमानेकोले पोष्टमार्टम नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘पोष्टमार्टमका लागि हामीले सबै प्रक्रिया पुरा गरेका छौं, आफन्तको सहमति पछि अघि बढ्छ ।’

प्रवक्ता थापाले घटना बारे प्रहरीले अनुसन्धान सुरु गरि सकेको जानकारी दिनुभयो । मृतकका आफन्तले किटानी जाहेरी दिएकाले अनुन्धान अघि बढाइएको बताउनुभयो । ‘सेनाका एक जवानको कुटाइबाट मृत्यु भएको किटानी जाहेरी परेको छ, हामी अनुसन्धान अघि बढाइ सकेका छौं ।’

पीडित परिवारले माग पुरा नगरेसम्म शव नउठाउने अडानमा छ । परिवारको साथमा रहेर नेपाल चेपाङ संघले आन्दोलनाई अघि बढाइ रहेको छ । संघकै नेतृत्वमा पटकपटक जिल्ला प्रशासन कार्यालयमा छलफल समेत भएको छ । तर कुनै निष्कर्षमा पुग्न सकेको छैन । संविधानसभा सदस्य एवंम नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द चेपाङले पीडितको माग सम्बोधन नभएसम्म शव नबुझ्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘पीडितको माग राज्यले सम्बोधन गर्नुपर्छ, पीडितले परिवारले न्याय पाउँछन् भन्नेमा विश्वास छ ।’

पूर्व अध्यक्ष चेपाङले कुटपिटमा संलग्न सेनालाई कारवाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने, मृतकको बच्चाको भविष्य सुरक्षित गर्नुपर्नेलगायतको माग रहेको बताउनुभयो ।

मृतकका बुवा विष्णुलाल चेपाङले सेनाले कुटीकुटी आफ्नो छोरालाई मारेकोले दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो–‘सेनाको कुटाईबाट नै छोरोको मृत्यु भयो, अब सानी नातिनीलाई कसरी पाल्ने, म त धेरै समस्यामा छु ।’

‘सेनाले बुटै बुटले कुट्यो’

साउन १ गतेको घटना हो । साउने संक्रान्ति भएकाले राप्ती–२ का मिलन टोलका दुई महिला र पाँच पुरुष गरी सात जना केही खाने कुरा पाइन्छ की भन्दै राप्ती नदी तर्फ गए ।

राप्तीमा घोङी टिप्न पुगेका उनीहरु केही समयपछि केही पर अर्को खोलामा पुगे । त्यहाँ पुग्ने वित्तिकै एक जना सैनिकले रोकेर तथानाम गाली गर्दै उनीहरुलाई कुटपिट गर्न थाले । सैनिकको कुटाई खाएका सन्तोष चेपाङले भन्नुभयो–‘पछाडीबाट आएका एक सैनिकले अचानक अपशब्द बोल्दै पिट्न थाले, रक्सी खाएर आएको देखेर हामी धेरै बोल्न सकेनौं ।’ उहाँले मृतक राजकुमारसंगै पाँचै जनालाई सेनाले लठ्ठी र बुटले पिटेको बताउनुभयो ।

घटनामा परेकी दिलमाया चेपाङले सेनाका जवानले आफूसहित एक महिला बाहेक सबैलाई गालीगलौज गर्दै कुटपिट गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘महिला भएकाले हामीमाथि हातपात भएन, कुट्ने धम्की दिँदा हामी चुप लागेर बस्दा बच्न सफल भयौं ।’ उहाँले सेनाकै कुटपिटकै कारण राजकुमारको ज्यान गएको बताउनुभयो । – नारायणी अनलाइनबाट

https://www.youtube.com/watch?v=aG_otWPJMj4&t=253s



सम्बन्धित
Loading...