साउन १५ गतेदेखि सौराहाका होटल खुल्दै, सात बुँदे नियम पालना गर्नुपर्ने


सरकारले साउन १५ गतेदेखि होटलहरु संचालन गर्न दिने निर्णय गरेपछि चितवनका पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु होटल संचालनका लागि तयारी थालेका छन् ।



क्षेत्रीय होटल संघ सौराहाले आज (मंगलबार) एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन, नियम पालना गरेर होटल व्यवसाय संचालन गर्न व्यवसायीहरुमा आग्रह गरेको छ । व्यवसायीहरु अहिले सोही अनुरुप होटल सरफाइमा जुटेका छन् ।

होटल संचालन गर्दा सबै होटलले अनिवार्य रुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच गर्नुपर्ने, हात धुने र हात स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ ।




यस्तै पर्यटकहरुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्री भन्दा बढी ज्वरो आएको व्यक्तिलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्य रुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीहरुमा आग्रह गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसंगै सौराहाका होटलहरु पूर्णरुपमा ठप्प छन् । होटल संचालनसंगै अन्य पर्यटकीय गतिविधिहरु पनि संचालन हुनेछन् । सौराहा विशेषगरी जंगलसफारी, डुंगा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीका साथै जंगलवाक हुने गरेको छ । यस्तै सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जीप सफारी हुने गरेको छ । यहाँको बुढी राप्तीमा डुंगा सफारीका लागि पनि पर्यटकहरु सौराहा आउने गरेका छन् । सौराहामा हाल ११० वटा होटल रहेका छन् ।



सम्बन्धित
Loading...