चितवनमा भेटिए कोरोना संक्रमित, ट्राभल हिस्ट्री छैन
भरतपुर । चितवन जिल्लामा ११ दिनपछि कोरोना संक्रमित भेटिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको कोरोना परीक्षणमा भरतपुर–२ का वृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ७९ वर्षका वृद्ध कोरोना संक्रमित भएको पुष्टि गरे । उनले संक्रमित वृद्धको अवस्था सामान्य रहेको जानकारी दिए ।
‘संक्रमित भरतपुर अस्पतालमा आइसकेका छैनन्, आउने भन्ने कुरो हो, बुधबार साँझसम्म बिरामी र उनको परिवार भरतपुर अस्पतालमा आएका छैनन्’, सूचना अधिकारी पौडेलले भने, ‘संक्रमितका परिवार सम्पर्कमा रहिरहेका छन् ।’
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार साउन ९ गतेको परीक्षणमा भरतपुर–११ का एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएयता बुधबार फेरि एक जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार गरिएको १५२ नमुनामध्ये चितवनको एक नमुनामा कोरोना भेटिएको प्रयोगशालाले जनाएको छ ।
‘११ दिनसम्म त चितवनमा संक्रमणको दर शून्य भएको थियो, बाह्रौँ दिनमा संक्रमित फेरि भेटिएका छन्’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘संक्रमित वृद्धको कुनै ट्राभल हिस्ट्री छैन, कहाँबाट कसरी उनी संक्रमित भए पत्ता लागेको छैन ।’ उनले सबै क्षेत्र खुला भएका कारण संक्रमितको स्रोत पत्ता लगाउन पनि मुस्किल भएको बताए ।
भौतिक दूरी कायम नराख्ने, मास्क नलगाई यात्रा गर्ने, कुनै वस्तु छोएपछि स्यानिटाइजर प्रयोग नगर्ने परिपाटीको विकास भइरहेको हुनाले कोरोनाको जोखिम बढिरहेको प्रमुख तिवारी बताउँछन् । उनका अनुसार संक्रमितको सम्पर्कमा आएका कति छन् कन्ट्याक्ट ट्रेसिङ गर्न पनि गाह्रो हुने अवस्था छ । चितवनमा हालसम्म सात जना कोरोना संक्रमित भेटिएका छन् भने एक जना संक्रमितको मृत्यु भैसकेको छ ।