कावासोतीसहित नवलपुरको ६ स्थानीय तह कोरोनामुक्त




नवलपुर । पूर्वी नवलपरासी जिल्लाको ८ स्थानीय तह मध्ये ६ स्थानीय तह कोरोनामुुक्त भएको छ । कावासोती नगरपालिकासहित ६ स्थानीय तह कोरोनामुक्त भएको हो ।
कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिका कोरोनामुक्त भएको हो ।
जिल्लाको गैंडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका तीन जना कोरोना भाइरस संक्रमित आइसोलेशनमा रहेका छन् । गैंडाकोट नगरपालिकाका अर्का एक जनाको भने चितवनको भरतपुरस्थित आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए ।




https://www.youtube.com/watch?v=g7tP9S-GwW0

 

रित्तिदै आइसोलेशन र क्वारेन्टाइन

गण्डकी प्रदेशकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको नवलपुरमा कोरोना संंक्रमणमुक्त हुँदै गएको छ । जिल्लामा अहिलेसम्म ३ सय २१ जना कोरोना संक्रमण पुष्टी भएकोमा ३ सय १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । ३ सय १८ जनालाई निको पारिएपछि रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन पनि खाली हुने क्रममा छ । पछिल्लो पटक आइतबार तीन जनामा संक्रमण पुष्टी भइ प्राकृतिक चिकित्सालयको आइसोलनमा ल्याइएको चिकित्सालयका ब्यवस्थापक हरी सापकोटाले बताए ।

बुलिङटारको क्वारेन्टाइन खाली

जिल्लाको पहाडी गाउँपालिका बुलिङटारमा भने सबै क्वारेन्टाइन खाली भएका छन् । अन्य पालिकाहरुमा रहेका क्वारेन्टाइनहरु पनि खाली हुने क्रममा रहेको स्वास्थ्य प्रमुख चापागाईँले जानकारी दिए ।
अब जिल्लामा १ सय ६६ जना क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा बढी हुप्सेकोट गाउँपालिकामा ४५ जना रहेका छन् ।

 

https://www.youtube.com/watch?v=rvzTW1qMMso

समुदायस्तरमा परीक्षण शुरु

नवलपुरको क्वारेन्टाइनहरु खाली हुँदै गएको र संक्रमितहरु निको भएर घर फर्किएपछि समुदायस्तरमा परीक्षण तीब्र पारिएको छ । बढी भिडभाड हुने संघ संस्थामा कार्यरत कर्मचारी तथा ब्यक्तिहरुको पीसीआर परीक्षण जारी राखिएको जिल्ला स्वास्थ्य प्रमुख चापागाईँले बताए ।

स्वास्थ्य कार्यायकाअनुसार पछिल्लो चरणमा स्वास्थ्यकर्मीहरुका साथै बैंक तथा बित्तीय संस्था, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, अदालतका कर्मचारी तथा सेना, प्रहरी, पत्रकारहरुको परीक्षण भइरहेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरुको पनि क्रमशः परीक्षण गरिने भएको छ ।
अहिलेसम्म बैक तथा वित्तीय संस्थाका एक सय भन्दाबढी, ४० जना भन्दा बढी पत्रकार, जनपद प्रहरीका ६० जना, सशस्त्र प्रहरीका ४० जना तथा नेपाली सेनाका दुई दर्जन बढीको परीक्षण भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले जानकारी दिए ।
स्वास्थ्य कार्यालयकाअनुसार नेपाली सेना, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी, पत्रकार तथा पेट्रोलपम्प लगायतका बढी मानिस आवतजावत हुने ब्यापारीहरु गरी सोमबार १ सय ९४ जनाको स्वाव संकलन गरी पोखरा प्रयोगशालामा पठाइएको छ ।
जिल्लामा क्वारेन्टाइनबाहेक समुदायस्तरका १२ सय जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच प्रहरी र एक जना नर्समा संक्रमण देखिएको थियो ।



सम्बन्धित
Loading...