कोरोना (कोभिड १९) बाट बढी सतर्क हुनुपर्ने अवस्थाहरु
डा. विनोद पौडेल, निर्देशक, सामुदायिक प्राकृतिक चिकित्सालय, अस्थायी कोरोना अस्पताल नवलपुर
हाल नेपालमा नै कोरोना (कोभिड–१९)संक्रमण समुदाय स्तरमा नै देखिन थालेको अवस्थामा डरभन्दा पनि सावधानी अहिलेको आवश्यकता हो भन्ने कुरा महसुस गरी यो लेखलाई हजुरहरू समक्ष राखेका छौ । धेरै जनाले राख्ने गरेको प्रश्न र चिन्ताको विषय भनेको आफ्नो स्वास्थ्य समस्या र कोरोना संक्रमणले आफूलाई पार्न सक्ने खराब अवस्थाको बारेमा नै हो । थोरै जानकारी हुँदा झन तनाव र डरको अवस्था पैदा भइरहेको अवस्थामा कस्तो स्वास्थ्य समस्या भएका रोगीलाई जोखिम बढी हुन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरा आफ्नो अनुभवलाई समेत जोडेर जानकारी दिने प्रयत्न गरिएको छ । नियमित औषधि प्रयोग गरिरहेका बिरामीहरु जस्तै सामान्य अवस्थाका मधुमेह र उच्च रक्तचाप आदि समस्याका विरामीहरु समेत बढी डर र त्रासको अवस्थामा रहेको भेटिन्छ । हामीसँग आउने संक्रमितहरुले पनि आफ्नो रोग र कोरोनासँग जोडेर मलाई खराब अवस्था हुन सक्छ भनेर डराएको भेटिन्छ ।
कोरोना संक्रमणबाट बढी सतर्क हुनुपर्ने अवस्थाहरु अङ्गहरू फेरेकोअवस्था (Organ transplants), पुरानो कलेजोको रोगी (cirrhosis, chronic hepatitis), दीर्घ मुटु रोगी, अनियन्त्रितमधुमेह (Uncontrolled type 1 or type 2 diabetes), मृगौला रोगी (chronic kidney disease), धुम्रपान र सुर्तीजन्यपदार्थको प्रयोग गर्ने व्यक्ति, अत्याधिक मध्यपान गर्ने व्यक्ति, क्यान्सर रोगी र क्यान्सर जितेको व्यक्ति, पुरानो स्वास प्रस्वास सम्बन्धी समस्या (COPD, Asthma), एचआइभि संक्रमित (HIV/AIDS), अत्याधिक मोटोपन (Severe obesity, BMI 30 or higher), अनियन्त्रित उच्च रक्तचाप (Uncontrolled hypertension), गर्भावस्था (Pregnancy), वृद्धवृद्धा (७० वर्ष कटेका र दीर्घरोग भएका), सिक्कलसेल रक्तअल्पता (Sickle cell anemia)
बढी मृत्युदर भएका कारणले यि अवस्थालाई बढी सावधानी अपनाउनुपर्छ भनिएको हो तर सबै उमेर समूह र अवस्थाका मानिसले पूर्ण सावधानी अपनाउनुपर्छ । उदाहरणका लागि जवान र कुनै स्वास्थ्य समस्या नभएका व्यक्तिले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएको हामीले सुन्ने गरेका छौं भने क्यान्सर रोगी, पुरानो स्वास प्रस्वासका रोगी, सय वर्ष काटेका व्यक्तिले समेतको कोरोना जितेका उदाहरण छन्। सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा समेत ७८ वर्षका दमका रोगी, इन्सुलिन लिनुपर्ने मधुमेहका रोगी, उच्च रक्तचापका रोगी, मिर्गौला रोगी, गर्भवती लगायत तीन बर्षको बच्चाले समेत कोरोना संक्रमण जितेका उदाहरणहरु छन् । यदि तपाई यी रोगबाट ग्रसित हुनुहुन्छ भने तपाई डराउनु पर्दैन तपाईंलाई डराउन दिनका लागि होइन सावधान बनाएर कोरोना संक्रमणबाट बचाउनका लागि यो लेख लेखिएको हो ।
यीअवस्थामा कसरी सुरक्षित रहने त?
उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या आदिको कारणले चिकित्सकको सल्लाहमा प्रयोग गरिरहेको औषधी छ भने चिकित्सकको सल्लाह बिना औषधि बन्द नगर्ने, अत्यावश्यक कामले घरबाहिर जानुपर्ने अवस्थामा यस्ता व्यक्तिलाई नपठाउने, यस्ता व्यक्तिलाई भिडभाड र जमघट बाट सधै बाहिर राख्ने, यस्ता व्यक्तिको नजिक सकेसम्म नजाने जानु परेमा नुनपानीले कुल्ला गरेर बाफलिएर मास्कको प्रयोग गरेर मात्र जाने, बाहिरका कामले जानु पर्ने व्यक्तिभन्दा सम्भव भएसम्म छुट्टै राख्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थहरु खुवाउने (रोगको अवस्था हेरेर र चिकित्सकको सल्लाह जस्तै मृगौला रोगी मुटुरोगीले तरल पदार्थको मात्रा मिलाएर पिउनुपर्छ), नुनपानीको कुल्ला दिनको तीनपटक गराउने, तुलसी राखेर दिनको दुईपटक बास लिन लगाउने, मधुमेहको रोगी र महको एलर्जि छैन भने दिनको दुईपटक मह र कागती पानीको प्रयोग नियमित गर्ने, मौसम अनुसारको फल, तरकारी र सागपातको प्रसस्त प्रयोग गर्ने, दिनको २० मिनेट बिहान वा बेलुकाको मधुरो घाममा बस्न लगाउने, सम्भव भएमा चिकित्सकको सल्लाहमा नियमित योग प्राणायाम ध्यान वा व्यायामको अभ्यास गराउने, जलनेतिको अभ्यास गर्ने (तरिका र सावधानी चिकित्सकको निगरानीमा मात्र), अन्य सावधानीमास्कको प्रयोग गर्ने साबुनपानीले नियमित हात धुने सामाजिक दूरी अपनाउने ।
https://www.youtube.com/watch?v=BwYQKjzFUvY&t=5s
