चितवनमा कोरोना : हप्तामा दोब्बर
भरतपुर । पछिल्लो समय कोरोना भाइरसले चितवन जिल्लालाई नराम्रोसँग प्रभावित पारेको छ, जसले गर्दा जिल्लाका ६ वटा स्थानीय पालिकालाई पूर्णरुपमा निषेधाज्ञा नै जारी गर्न बाध्य बनायो ।
भरतपुर अस्पतालको तथ्याङ्क हेर्ने हो भने पनि गएको एक सातामा मात्रै चितवनमा १२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । साउन २६ गतेसम्ममा संक्रमितको संख्या जम्मा १२७ पुगेको चितवनमा त्यसपछिको एक हप्तामा दोब्बरले वृद्धि भई हाल संक्रमितको संख्या २५७ पुगेको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा एक सातामा दुई हजार २८७ वटा नमुना परीक्षण हुँदा जम्मा १४१ जनामा कोरोना पुष्टि भएको हो, जसमा १२८ जना संक्रमित चितवनका मात्रै छन् ।
चितवनमा पनि यो हप्ता भरतपुर र राप्ती सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । सोही अवधिको तथ्याङ्क हेर्दा भरतपुर महानगरपालिकामा मात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने राप्ती नगरपालिकामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसपछि रत्ननगरमा छ, खैरहनीमा तीन र इच्छाकामना गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो ।
यो साता माडी र कालिका नगरपालिकामा भने नयाँ संक्रमित देखिएका छैनन् । संक्रमित हुनेहरुमा महिलाभन्दा पुरूष बढी छन् । एक साताको परीक्षणका क्रममा कोरोना पुष्टि भएका पुृरूषको संख्या ८७ हुँदा महिलाको संख्या भने ३९ मात्रै छ ।
वैशाख ५ गते पहिलोपटक संक्रमित भेटिएको चितवनमा पछिल्लो समय ‘कन्ट्याक्ट ट्रेसिङ’का कारण संक्रमितको संख्या ह्वात्तै बढेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जनाकारी दिए । सोमबार राति आएको रिपोर्टमा संक्रमण पुष्टि भएका ४६ जनामध्ये ४३ जनाको नमुना ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा संकलन गरेर परीक्षण गरिएको उनले बताए । संक्रमितमध्ये हाल ५३ जना भरतपुर अस्पतालको आइसोलेसनमा, ३० जना होम आइसोलेसनमा रहेका उनको भनाइ छ ।
https://www.youtube.com/watch?v=LZ1VVM-lgfg