चितवनमा सक्रिय सङ्क्रमित एक हजार नाघे
चितवनमा कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको संख्या एक हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या एक हजार आठ पुगेको छ ।
बिहीबार ७५ जना नयाँ सङ्क्रमित थपिए भने २८ जना निको भएर डिस्चार्ज भए । हालसम्म जिल्लाका २० सङ्क्रमितको मृत्यु भएको छ । बिहीबारसम्म दुई हजार तीन जनामा कोरोना पुष्टि भएकोमा ९७५ जना सङ्क्रमित निको भएर घर गइसकेका छन् । सक्रिय सङ्क्रमित एक हजार आठमध्ये संस्थागत आइसोलेसनमा ३३८ जना छन् भने होम आइसोलेसनमा ६७० जना छन् ।
हालसम्म कोरोना पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका एक हजार २७२, माडी नगरपालिकाका ५७, राप्ती नगरपालिकाका १४१, रत्ननगर नगरपालिकाका ३००, खैरहनी नगरपालिकाका १५०, कालिका नगरपालिकाका ७१ र इच्छाकामना गाउँपालिकाका १२ जना छन् । संक्रमितहरुमा एक हजार १९५ जना पुरूष र ८०८ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् ।