चितवनमा कोरोना : दसैँ अवधिमा २२ सङ्क्रमितको मृत्यु


भरतपुर । चितवन जिल्लामा दसैँको घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा कोरोना संक्रमणको संख्यासँगै मृत्युको संख्या पनि बढेको छ ।



चितवनमा दसैँ अवधि (घटस्थापनादेखि पूर्णिमासम्म) चितवन जिल्लामा २२ जनाको मृत्यु भएको छ, जसमा अधिकांश वृद्धवृद्धा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दसैँको अवधिमा सङ्क्रमितको संख्या र मृत्युसँग दुवै बढेको बताए ।

उनले भने, ‘दसैँको अवधिमा मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक छन्, कोरोनाको मृत्यु घटाउन ज्येष्ठ नागरिकहरुलाई घरभित्रै राख्न जरूरी छ ।’ उनका अनुसार ज्येष्ठ नागरिकहरु प्रायः कुनै न कुनै रोगबाट पीडित छन्, उनीहरुमा कोरोना सङ्क्रमण देखियो भने उठ्न गाह्रो हुन्छ, त्यसकारण कोरोनाबाट मृत्यु हुनेमा बढी बूढाबूढी नै छन् ।’




चितवनमा हालसम्म ६२ जना कोरोना सङ्क्रमितको निधन भइसकेको छ । कोरोना सङ्क्रमितको संख्या चितवनमा चार हजार २७७ जना पुगेको छ । हालसम्म चितवनमा दुई हजार ५९२ जना निको भएर घर फर्केका छन् ।

दसैँको अवधिमा चितवन जिल्लामा एक हजार ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसअवधिमा ८०२ जना निको भएर घर फर्किएका छन् । दसैँको अवधिमा मात्र जिल्लामा जम्मा एक हजार ९९९ वटा स्वाब परीक्षण गरिएको थियो ।

भरिए आइसियू र भेन्टिलेटर

स्वास्थ्य कार्यालय चितवनले कोभिडको उपचार गर्ने भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा कोभिडको लागि छुट्टाइएको आइसियू र भेन्टिलेटरहरु भरिएको जनाएको छ । कार्यालयका अनुसार आइसियू र भेन्टिलेटरहरु खाली हुन पाएको छैन । भरतपुर अस्पताल कोभिड क्लिनिकल कोर्डिनेटर डा प्रमोद पौडेलले भरतपुर अस्पतालमा कोभिडका बिरामीको लागि छुट्टाइएको भेन्टिलेटरसहितको आइसियू र आइसियू कक्ष भरिएको बताए ।

उनले भने, ‘कोभिडका लागि भनिएको १६ आइसियू बेड र चारवटा भेन्टिलेटरसहितको आइसियू बेड भरिएको छ ।’ उनका अनुसार अस्पतालले कोभिडका बिरामीको लागि १५ बेडको एचडियू कक्ष बनाइरहेको छ ।

पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले कोभिडका लागि तयार पारिएको आईसियूका बेडहरु बिरामीले भरिएको बताए । उनले भने, ‘खाली हुन पाएको छैन, नेगेटिभ रिर्पोट आउनसाथ कोभिडका बिरामी अन्त सार्ने र अन्य गम्भीर खालका कोभिडका बिरामी त्यहाँ ल्याउने काम भइरहेको छ ।’ पुरानो मेडिकल कलेजले कोभिडका लागि दुईवटा भेन्टिलेटरसहितको आइसियू बेड र २० बेडको आइसियू कक्ष तयार पारेको उनी बताउँछन् ।

नयाँ मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले अस्पतालले कोभिडका लागि छुट्टाएको आइसियू बेड र भेन्टिलेटरसहितको बेड भरिएको बताए । उनले भने, ‘कोभिडका लागि भनिएको पाँचवटा भेन्टिलेटरसहितको आइसियू कक्ष र २० भन्दा बढी आइसियू बेड यतिबेला भरिएका छन् । कोभिडकै लागि भनिएको एचडियू कक्षका केही बेड खाली छन् ।’



सम्बन्धित
Loading...