पश्चिम नवलपरासी प्रहरीद्वारा साढे १० लाख बढीको अवैध सामान बरामद
मंसिर २४ । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट प्रहरीले १० लाख ५१ हजार २ सय बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ३ लाख १३ हजार २ सय मुल्य बराबरको ५ सय २२ थान छालाको बेल्ट जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ६ ललितपुरबाट प्रहरीले बरामद गरेको हो ।
यस्तै लु १ च ६४१३ नम्बरको पिकअपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको दुई क्वीन्टल कुखुरा सुस्ता गाउँपालिका वडा नम्बर ५ टुटहवापुलबाट प्रहरीले गाडी र चालक सहित नियन्त्रणमा लिएको छ । बरामद गरीएका कुखुरा ३८ हजार र पिकअप गाडी ७ लाख मुल्य बराबरको रहेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिईएका सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको छ । कुखुरा, गाडी र गाडी चालकलाई भने महेशपुर पशु क्वारेन्टाईन कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।