पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, सहसचिव गेलाल सचिवमा बढुवा




नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।




गत मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको थियो ।

यस अघि मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका थिए ।

सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन ।

सहसचिव गेलाल सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिव मणिराम गेलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

वरिष्ठतम सहसचिवमध्ये गेलाललाई सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।

हाल उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन्। यस्तै बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई चीनको छेन्दुको महावाणिज्यदूतमा पठाउने निर्णय गरेको छ।

 

 

 



सम्बन्धित
Loading...