नवलपरासीमा दुई उद्योग सञ्चालकलाई पक्राउ पूर्जी


जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले दुई चिनी उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरेको छ । जिल्लाको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगका सञ्चालक शुशीला गोयल र इन्दिरा सुगर मिल प्रतापपुरका सञ्चालक राजेश अग्रवाललाई पक्राउ पूर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनुभयो ।



प्रमुख जिल्ला अधिकारी पाठकका अनुसार लुम्बिनी चिनी उद्योगका सञ्चालक गोयलको नाममा बुधवार र इन्दिरा सुगर मिल प्रतापपुर गांगापुरका सञ्चालक राजेश अग्रवालको नाममा बिहीवार पक्राउ पुर्जी जारी गरेको बताउनुभयो ।

किसानको उखु खरिद गरे वापतको लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा सुगर मिल प्रतापपुर गांगापुरले ८ करोड भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताउनुभयो । उखुको भुक्तानी नपाएपछि किसानहरु काठमाडौ केन्द्रित आन्दोलनमा रहेका छन् ।




यसैबीच, लुम्बिनी चिनी उद्योगले माघ २ देखि किसानहरूको बाँकी रहेको उखुको मूल्य भुक्तानी दिने प्रतिबद्धता जनाएको छ ।

उद्योगका निर्देशक रमेश भट्टराईले आज प्रेश विज्ञप्ति जारी गर्दै कम्पनीले माघ २ देखि भुक्तानी गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उद्योगमा स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको र अहिले अदालत पुगेर उक्त विवाद मिलिसकेको उद्योगको भनाइ छ ।

२०७४ सालमा लुम्बिनी चिनी उद्योगका तत्कालिन सञ्चालक मनिषकुमार अग्रवालको निधन भएको थियो । त्यसपछिको वर्ष अग्रवालकै पत्‍नी सुशीला गोयल अग्रवालले सञ्चालनको जिम्मा लिनु भएको थियो ।

उद्योग मालिक अग्रवालको निधन भएकै वर्ष उत्पादनमा गिरावट आएको र बजारमा विदेशी चिनीका कारण लागत मूल्यभन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता रहेकैबेला स्वामित्व विवाद हुँदा किसानको भुक्तानी पनि रोकिँएको कम्पनीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अहिले स्वामित्व विवाद अदालत पुगेर समाधान भएको र स्वामित्व मनोजकुमार अग्रवालको नाममा गएको उद्योगले जानकारी दिएको छ । यद्यपी अहिले पनि कानूनअनुसार उद्योगको सेयर तथा सम्पत्ति रोक्का फुकुवा हुने क्रम चलिरहेको कम्पनीले बताएको छ ।

https://www.youtube.com/watch?v=c0qsClktVbc



सम्बन्धित
Loading...