यिनै हुन् डा. केसीको अनशनबिरुद्ध अनशन बस्ने युवा
इलाम/ओखलढुङ्गा — आफूसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै पुस २५ मा प्रा.डा. गोविन्द केसीले इलाममा १६ औँ अनशन सुरु गरे । त्यसको तेस्रो दिन फरक माग लिएर विजय थापाले पनि अनशन सुरु गरे । ‘नि:शुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त सङ्घर्ष समिति’ नाम दिएर बसेको अनशनका क्रममा निकालिएको विज्ञप्तिमा थापालाई ‘सामाजिक अभियन्ता एवं विद्यार्थी’ भनेर चिनाइएको छ ।
पुस २७ गते इलाम चोक बजारस्थित लाँकुरी चौतारामा उनी अनशन बसेका थिए । संसदीय समितिमार्फत पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेसहित नौ बुँदे माग राखेर थापाले अनशन थालेका हुन् । थापाले अनशन थाल्दा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी हुने बताएका थिए । राजधानीबाहिर निजी मेडिकल कलेज खोल्न पाउनुपर्नेलगायत उनका माग छन् ।