मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले शनिबार मन्त्री पदबाट हटाएलगत्तै आङ्वोकै नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको हो ।
पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकटका हुन् ।
९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये प्रचण्ड–नेपाल पक्षमा ४७ जना र ओली पक्षका २० जना रहेको आङ्वोको दावी छ ।
उनले मुख्यमन्त्रीले पदबाट हटाएलगत्तै अविश्वासको प्रस्ताव दर्ता गर्न बाटो खोलिदिएको बताएका छन् ।