कावासोती नगरपालिकाले शुरु गर्यो लालपूर्जा वितरणका लागि भूमिहिन र अव्यवस्थित बसोबासको लगत संकलन
नवलपरासी, १६ पौष । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु गरेको छ ।
नगरपालिका भित्र रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्न लगत संकलन शुरु गरिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।
कावासोती नगरपालिकाले अहिले वडा वडामा गएर लगत संकलन गरेको छ ।
माघ १३ गतेसम्म लगत संकलन पुरा गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।
१७ वटा वडा रहेको कावासोती नगरपालिकामा ७ वटा टोली बनाएर काम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।
कावासोतीमा कम्तिमा १० बर्षदेखि जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबास र जग्गा समेत नभएका सुकुम्बासीहरुको लगत संकलन गरि उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरी जग्गा तथा लालपूर्जा वितरणका लागि लगत संकलन शुरु गरिएको पुरीले बताए ।
नगरपालिकाले लगत संकलन शुरु गरे लगतै कावासोतीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु भने जग्गा र लालपूर्जा पाउनेमा आशावादी देखिएका छन् ।

