नेकपा र सरकारलाई सराप्दै मनायो काग्रेसले नवलपुरमा ४५ औं मेलमिलाप दिवस
नवलपुर: नवलपुर कांग्रेसले ४५ औं राष्ट्रिय मेलमिलाप दिवस सरकार र नेकपालाई सरापेर मनाएको छ । काग्रेसका केन्द्रीय सदस्यदेखी जिल्ला तहका नेताहरुले सरकार र नेकपालाई गाली गरेरै दिवस मनाएका हुन् ।
कावासोतीमा भएको कार्यक्रममा केन्द्रिय सदस्य जीवन परियारले नेकपाको आन्तरिक कलहको कारण विदेशी शक्तिको चलखेल बढदै गएको र सरकारले दिनदिनै असंवैधानिक कदम चाल्दै जाँदा जनतामा सिङ्गो व्यवस्था प्रति नै वितृष्णा बढदै गएको आरोप लगाए ।
गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले गरेको काम अलोकतान्त्रिक, तानशाही चरित्र, राजनीति बेईमानी र जनताप्रतिको गद्दारी भएको बताएका छन् । उनले मेलमिलापले नै राज्य सहि मार्गमा जानसक्ने बताउदै अहिले नेकपामा मेलमिलाप अभावले नै पार्टीमा तरंग मच्चिएको बताए ।
पार्टीका जिल्ला सभापति एवं गण्डकी प्रदेश साँसद विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य महेन्द्रध्वज जिसी , प्रदेश सांसद ओमकला गौतम लगाएतका नेताहरूले सम्बोधन गरेका थिए ।