लकडाउनका कारण बन्द नवलपुरका होम स्टेहरु खुल्न थाले


रामकुमार श्रेष्ठ –



नवलपरासी, १७ पौष । लकडाउन पछि बन्द भएका नवलपुरका होम स्टेहरु विस्तारै सञ्चालनमा आउन थालेका छन् ।
पूर्वी नवलपरासीमा करिब १ दर्जन होम स्टेहरु रहेका छन् । आदिवासी जनजातिहरुको बाहुल्यता रहेको क्षेत्र र पर्यकटकीय दृष्टिकोण अति महत्वपूर्ण मानिने क्षेत्रमा खालिएका होम स्टेहरुले त्यस क्षेत्रको बासिन्दाका जीवन स्तर उकास्न निक्कै महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

नेपालकै उत्कृष्ट होम स्टेको रुपमा सूचिकृत भएको पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ अमलटारीमा रहेको अमलटारी होम स्टे लकडाउनले पूर्ण रुपमा बन्द भएको थियो तर अहिले विस्तारै लयमा फर्कन थालेको छ ।




३१ घर थारु र बोटे समुदाय मिलेर खोलिएको अमलटारी होम स्टे अहिले लकडाउन पछि आन्तरिक तथा बाह्य पर्यटकको लागि खुल्ला गरिएको होम स्टे सञ्चालक समितिले जनाएको छ ।

अहिले दैनिक २०/२५ जना पर्यटकहरु आउन थालेको र ठूलो संख्यामा पर्यटकहरु आए पनि सोही अवस्थामा तयारीमा राखिएको अमलटारी होम स्टेका व्यवस्थापक धनिराम चौधरीले बताए ।

यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र भित्र रहेका सामुदायिक वनहरुमा जंगल सफारी गर्न सकिने, गैडा, बाघ, हरिण, चित्तल, वनहात्ती समेत सजिलै अवलोकन गर्न सकिने छ ।

अमलटारी होम स्टे विगतको तुलनामा अझ फरक शैलीमा सञ्चालन गर्न अमलटारी होम स्टेका सञ्चालकहरुले होम स्टेहरुलाई प्राकृतिक रुप समेत दिएका छन् ।

कोभिड १९ का कारण बन्द भएका बजार, पसल, विद्यालय खुले पनि कोरोनाको कहर भने बाँकी नै रहेका कारण यहाँ आउने पर्यटकहरुलाई सुरक्षित राख्नका लागि अमलटारी होम स्टेमा एउटा पाहुना गएर कोठा खाली हुँना साथ कोठालाई सेनाटाइज गर्ने, विछ्यौना परिवर्तन गर्ने लगायतका कामहरु पनि गरिएको अमलटारी होम स्टेका अध्यक्ष एवम् कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया बताउँदछन् ।

पूर्वी नवलपरासीको कावासोतीमा मात्रै ४ वटा होम स्टे सञ्चालनमा रहेका छन् भने नवलपुर जिल्लामा मात्रै १ दर्जनको हाराहारीमा होम स्टेहरु सञ्चालनमा रहेका छन् ।

गरिब तथा विपन्न परिवारको जीवन स्तर उकास्न र यहाँका आदिवासी जनजातिहरुको कला संस्कृति मार्फत पर्यकट लोभ्याउन नवलपुरका स्थानीय सरकारहरुले होम स्टेको सम्भाव्यता रहेको क्षेत्रका स्थानीय बासिन्दाहरुको सहकार्यमा होम स्टे खोल्न र सञ्चालनका लागि प्रोत्साहन स्वरुप सञ्चालनको शुरुको वखत आर्थिक सहयोग समेत गर्दै आएका छन् ।



सम्बन्धित
Loading...