देवचुली नगरपालिकाले शिक्षामा बजेट विनियाेजनमा विभेद


  • रामकुमार श्रेष्ठ –


नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नगरपालिकाले विद्यालयहरुलाई बजेट विनियोजन गर्दा पहुँचको आधारमा बजेट विनियोजन गरेर विभेद गरिएको सरोकारवालाहरुले बताएका छन् ।




नगरपालिकाले विद्यालय क्षेत्रलाई बजेट विनियोजना गर्दा नगरपालिकासँग बढी सम्पर्कमा रहने, योजनाका लागि बारम्बार धाइरहने प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका विद्यालयलाई बजेट बढी विनियोजन गर्ने गरेको उनीहरुको आरोप रहेको छ ।

विद्यालयको आवश्यकताको आधारमा भन्दा पनि पहुँचको आधारमा बजेट विनियोजन गरिएको देवचुली नगरपालिका ५ सकलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी शिवाकोटीले बताउनुभयो ।

नगरपालिकाले सबै विद्यालयको अभिभावकत्व ग्रहण गर्नु पर्नेमा त्यस्तो गर्न नसकेको उनको ठहर छ ।
देवचुली ९ कालिका मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमराज अधिकारीको पनि त्यस्तै ठहर छ । नगरपालिकासँग पहुँच हुनेले बढी र पहुँच नहुनेले कम बजेट लैजाने गरेको आफूले पनि पाएको अधिकारीले बताए ।

नगरपालिकाले भने विद्यालयमा बजेट विनियोजनमा कुनै विभेद नगरेको र विद्यार्थी संख्याको आधारमा बजेट विनियोजन गर्ने गरेको बताउने गरेको छ ।
धेरै विद्यार्थी हुनेको धेरै, थोरै विद्यार्थी हुने ठाउँमा स्वभाविक रुपले थोरै बजेट जाने गरेको नगरपालिकाको पदाधिकारीको तर्क छ ।

देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले कही कही विद्यालय मर्ज गर्नु पर्ने अवस्था रहेको तर कतिपयले मर्ज गर्न नमान्दा त्यसले यस्तो समस्या उत्पन्न भएको बताए ।

देवचुली नगरपालिका ३० भन्दा बढी सामुदायिक विद्यालयहरु रहेका छन् । नगरपालिकाले विद्यालयहरुलाई बजेट विनियोजनमा विभेद गर्दा कतै भौतिक संरचनादेखि विद्यालयको शैक्षिक गुणस्तर अत्यधिक राम्रो त कतै नाजुक भएको सरोकारवालाको ठहर छ ।

देवचुली नगरपालिकाले यस बर्ष शिक्षामा जम्मा ४० लाख मात्र बजेट विनियोजन गरेको छ जसले गर्दा यहाँका विद्यालयहरु भौतिक पूर्वाधार विकासका लागि संघीय सांसद, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सरकार तथा सम्बन्धित मन्त्रालयको मुख ताक्न बाध्य हुने गरेका छन् ।



सम्बन्धित
Loading...