नवलपरासीमा नीजि आवासतर्फको पुननिर्माण कार्य अन्तिम चरणमा
२०७२ सालको महाभुकम्पबाट भएको निजी आवासतर्फको पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
२०७२ को भुकम्पले पूर्वी नवलपरासीमा निजी आवासतर्फ १ हजार ५१ वटा भौतिक संरचना र पश्चिम नवलपरासीमा २० वटा भौतिक संरचनामा क्षति भएकोमा अहिले पुननिर्माणको काम सक्ने तयारीमा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण योजना कार्यान्वयन इकाई कार्यालय नवलपरासीका प्रमुख राजेन्द्र कार्कीले बताए ।
बिहीबार नवलपुरको गैडाकोटमा योजना कार्यान्वयन इकाई कार्यालय नवलपरासीले आयोजना गरेको चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा आयोजित जिल्ला स्तरीय अन्तरक्रियामा दिइएको जानकारी अनुसार पश्चिम नवलपरासीमा निजी आवासतर्फको पुननिर्माण कार्य सकिएको छ भने पूर्व नवलपरासीमा निजी आवासतर्फको ९ सय ३५ भौतिक संरचना निर्माण कार्य सकिएको छ ।
कार्यक्रममा पूर्वी नवलपरासीका पालिकाहरुका प्रमुख एवम अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय कार्यालय काठमाडौंका प्रमुख शुशिल ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार बाँकी रहेका ६४ घरले दोस्रो किस्ता रकम समेत लगेका छन् भने बाँकी रहेका ५२ जनाले पनि पहिलो पुननिर्माणका लागि पहिलो किस्ता रकम लगिसकेका छन् । दोस्रो किस्ता रकम लगेकाहरु मध्ये अधिकांशले भवन निर्माण कार्य सकिसकेका छन् भने पहिलो किस्ता लग्नेहरुको पनि २०७८ को बैशाखसम्म भवन निर्माण सकेर नवलपरासीमा निजी आवासतर्फको पुननिर्माण नेपालमै पहिलो पटक सक्ने लक्ष्यका साथ काम गरिरहेको कार्कीले जानकारी दिए ।
नवलपरासीमा २०७२ को महाभुकम्पबाट विद्यालयतर्फ २ सय १० वटा विद्यालयको ५ सय २० वटा कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये कक्षाकोठा पुननिर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । यहाँ विद्यालयको पुननिर्माण कार्य सक्न भने अझै अर्को आर्थिक बर्ष कुर्नु पर्ने देखिएको छ ।
विद्यालयतर्फ ५ सय २० वटा कक्षा कोठा क्षति भएकोमा २ सय १८ वटा कक्षा कोठा पुननिर्माण कार्य सकिएको छ भने २ सय ७१ वटा कक्षा कोठा पुननिर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बाँकी कक्षा कोठाको पुननिर्माण पनि छिट्टै सक्ने लक्ष्य रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण, योजना कार्यान्वयन इकाई नवलपरासी (शिक्षा) का प्रमुख राजेश्वर पराजुलीले बताए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय कार्यालय काठमाडौंका प्रमुख शुशिल ज्ञवाली, शाखा अधिकृत भुवनेश्वर लामिछाने, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी लगायतले भुकुम्पबाट हुन सक्ने जोखिमबाट बच्नका लागि सजगता अपनाउन सबैले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
https://www.youtube.com/watch?v=bEDC4I9ISag
