अवैद्य भन्दै शिल गरिएका नवलपुरका बालुवा प्रसोधन उद्योग प्रक्रिया नै पुरा नगरी खोलियो
रामकुमार श्रेष्ठ –
नवलपरासी, १५ माघ । पूर्वी नवलपरासीमा अनुगमनको क्रममा अवैध सञ्चालनमा रहेको भेटिएर बन्द भएका नवलपुरका १४ वटा बालुवा प्रशोद्धन उद्योग स्थानीय पालिकाहरुले विना कारवाही खोलिदिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका नेतृत्वमा स्थानीय पालिका, राजश्व कार्यालय, प्रहरी, साना तथा घरेलु उद्योग लगायतले संयुक्त रुपमा अनुगमन गर्दा अवैध सञ्चालनमा रहेको भनेर शिल गरिएका प्रशोद्धन उद्योग स्थानीय सरकारले नयाँ दर्ता पक्रियामा लैजाने भन्दै खोलिदिएका हुन् ।
शिल गरिएका उद्योगलाई कुनै कारवाही पनि नगरिकन नयाँ उद्योग दर्ता प्रक्रियामा लैजाने भन्दै एकसाथ सबै उद्योग खोलिदिएपछि ठूलै आर्थिक चलखेलको आशंका गरिएको छ ।
पूर्वी नवलपरासीमा अनुगमनको क्रममा विना दर्ता सञ्चालनमा रहेको पाइएर बन्द गरिएको यहाँका १४ वटा बालुवा प्रशोद्धन उद्योग शिल गरिएको दुई महिना नवित्दै पुन सञ्चालनमा आएको छ ।
जिल्ला अनुगमन समिति र सम्बन्धित पालिकाले घुमाउरो निर्णय गरेको शिल गरिएका उद्योग खोलिदिएका हुन् ।
जिल्ला अनुगमन समितिले शिल गरिएका बालुवा उद्योगहरुलाई खोल्नका लागि कुनै निर्णय नगरे पनि सम्बन्धित पालिकालाई नयाँ उद्योग दर्ता प्रक्रिया पुरा गर्न बाटो खुल्ला हुने गरि गरिदिएको निर्णयलाई नै आधार मानेर यहाँका शिल भएका बालुवा उद्योगहरु खुलेका हुन् ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवम् जिल्ला अनुगमन समिति नवलपुरका प्रमुख चेसराम आलेले भने – हामीले शिल गरिएको उद्योगलाई खोल्नु भन्दा पनि नयाँ उद्योग दर्ता प्रक्रिया शुरु गर्नु भनेको हो तर, हाम्रै निर्णयलाई टेकेर खोलिएको भन्न सुन्न आएको छ तर आधिकारिक जानकारी छैन ।
आलेले आफूले अनुगमन मात्र गर्ने र जानकारी गर्ने तर कारवाही गर्ने निकाय भनेको सम्बन्धित पालिका नै भएकोले यस्तो भएको बताए ।
आवश्यक रित पूरा नगरी सञ्चालन गरिएको भन्दै नवलपुरमा प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोलीले बालुवा प्रशोधन उद्योग शिल गरेको थियो तथापि उद्योग बालुवा प्रशोद्धन उद्योग र उद्योग सञ्चालनकलाई कुनै कानुनी कारवाही पनि नगरी र नपुगेका रित समेत पुरा नगरी स्थानीय सरकारले जिल्ला अनुगमन समितिको निर्णयलाई आधार मानेर भन्दै बालुवा उद्योगहरु खोलिदिएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले जिल्ला अनुगमन समितिकै निर्णयलाई टेकेर पालिकाको थप निर्णय सहित १ बर्ष भित्र नयाँ दर्ता प्रक्रिया पुरा गर्ने गरी शील भएको बालुवा प्रसोधन उद्योग खोलिएको बताए । उनले भने – एक पटकलाई मौका दिएर १ बर्ष भित्र सबै कानुनी प्रक्रिया पुरा गर्नु भनेर निर्देशन सहित खोलिएको हो ।
जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकामा संञ्चालित १२ वटा ,कावासोती नगरपालिकाको एउटा र हुप्सेकोट गाउँपालिकाको एउटा गरि १४ वटा बालुवा प्रशोधन उद्योग शिल गरिएको हो ।
कम्पनी रजिष्टारको कार्यालयमा मात्र दर्ता गरेको तर , साना तथा घरेलु उद्योगमा दर्ता नगरेको, स्थानीय पालिकाको इजाजत नलिएको पाईएपछि उद्योग शिल गरिएको थियो ।
अहिले विनयी त्रिवेणी गाउँपालिकाले १ बर्षभित्र प्रक्रिया पुरा गर्न समय दिने र हुप्सेकोट गाउँपालिकाले ६ महिना भित्र प्रक्रिया पुरा गर्न समय दिने भन्दै प्रसोधन उद्योगहरु खोलिदिएका हुन् ।
शिल गरिएका उद्योगलाई कानुनी प्रक्रिया पुरा नगरी खोलिंदा स्थानीय स्तरमा ठूलै आर्थिक चलखेल भएको स्थानीयले दावी गरेका छन् । गाउँपालिका अध्यक्ष डम्बर जिसी भने आर्थिक चलखेल भएको र व्यापारीहरुको दबाब भएको अस्वीकार गर्छन् ।
यहाँका बिनयी त्रिवेणी गाउँपालिकामा रहेको ज्यामिरे बालुवा प्रसोधन प्रालि , महाविर बालुवा प्रसोधन उद्योग, एम के नेचुरल वासिङ्ग प्लान्ट, जय गुरु गणेश कन्ट्रक्सन वास प्लान्ट, नमोबुद्ध सप्लायर्स एण्ड स्यान्ट प्रोसेसिङ्ग प्रालि, विनयी सर्दी कन्ट्रक्सन एण्ड गिटी बालुवा प्रसोधन प्रालि, दृष्टि कन्ट्रक्सन एण्ड गिटी बालुवा प्रसोधन प्रालि, एस जी बालुवा प्रसोधन केन्द्र, सुन टाँडी बालुवा प्रसोधन केन्द्र, विन्धबासिनी बालुवा प्रसोधन तथा निर्माण प्रालि, भैरव बाबा प्रसोधन उद्योग प्रालि, विनयी बालुवा प्रसोधन, हुप्सेकोटको देउराली बालुवा प्रशोद्धन उद्योग र कावासोतीका बोलेबाबा बालुवा उद्योग शिल गरिएको थियो ।
शिल गर्दा निक्कै हौसिएर कानुनी प्रक्रिया पुरा गरेरमा शिल भएका उद्योग खोलिने भनेर बताएका यहाँका प्रशासन प्रमुखले भने अहिले यस विषयमा कुनै प्रतिक्रिया नजनाउने बताउँदै आएको छ ।
