देवचुली नगरपालिकाः बसाई सराई कतै निशुल्क कतै शुल्क



नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा बसाईसराई प्रमाणित सिफारिस गर्दा कतै निशुल्क त कतै शुल्क लिने गरेको पाइएको छ ।



देवचुली नगरपालिकामा अहिले राष्ट्रिय परिचय पत्रका निर्माणका लागि तथ्यांक संकलन भईरहेका कारण सम्बन्धित नगरपालिका भन्दा बाहिरबाट आउनेले तथ्यांक संकलनको क्रममा बसाईसराई अनिवार्य प्रमाणित गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

सोही प्रावधान अन्तरगत बसाई सराई प्रमाणित गर्दा देवचुली नगरपालिका भित्रकै कतिपय वडाले निशुल्क बसाई सराई प्रमाणित गर्ने गरेको पाइएको हो भने कतिपयले शुल्क लिएर गर्ने गरेको पाइएको छ ।
शुल्क लिने वडाहरुले पनि फरक फरक शुल्क लिईएको स्थानीयले गुनासो गरेका छ्न ।




राष्ट्रिय परिचय पत्र निर्माणको लागि अन्य जिल्लाबाट नागरिकता बनाएकाहरुले बसाईसराई प्रमाणित हुनुपर्ने भएकोले २०/३० वर्ष अघिबाट बसोबास गरिरहेकाहरुलाई सम्बन्धित वडाहरुले बसाईसराई प्रमाणित सिफारिस गरिरहेका छन् ।

राष्ट्रिय परिचय पत्र निर्माण प्रायोजनका लागि देवचुली वडा न ९, १०, १२ र १३ मा सिफारिस निःशुल्क गरिएको छ भने देवचुली वडा न ४ मा ३ सय, देवचुली वडा नं. ११ र १४ मा रु पाँच सय रुपैयाँ शुल्क लिदै आएका छन् ।

धेरै पहिलादेखि बसोबास गर्दै आएको बसाईसराईको कागज साविक स्थानीय निकायमै बुझाएको तर परिचय पत्र निर्माणका लागि अहिले सिफारिस शुल्क तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले राज चापागाईले बताए ।

राष्ट्रिय परिचयपत्र निर्माणको प्रायोजनका लागि बसाईसराई प्रमाणित सिफारिसको शुल्क लिन नहुने पक्षमा रहेको देवचुली नगरपालिका वडा न १२ का अध्यक्ष दिनेश भुसालले बताए ।

नगरपालिकाले सिफारिसको बारेमा प्रष्ट नगरेकोले आफ्नो वडामा बसाईसराई प्रमाणित सिफारिसको प्रमाणित सिफारिस शिर्षकबाट पाँच सय रुपैया शुल्क लिएको देवचुली वडा न ११ का अध्यक्ष रमेश ठाडाले बताए ।

नगरपालिकाले जुनसुकै प्रयोजनका लागि भए पनि सिफारिस शुल्क लिन सक्ने देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले विभिन्न जिल्लाबाट धेरै पहिले आएका स्थानीयले अहिले बसाईसराई लिन जाँदा समस्या हुने भएकाले सम्बन्धित वडाले नै बसाई सराई प्रमाणित गरेर ३ सय रुपैयाँका दरले शुल्क लिन निर्देशन गरेको बताइन् ।

 



सम्बन्धित
Loading...