११ हजार बढी नयाँ मतदाता थपिए, एउटा मतदान केन्द्र थप
नवलपरासी, ७ फाल्गुन । पूर्वी नवलपरासीमा ११ हजार ४ सय ९ जना नयाँ मतदाता थपिएका छन् ।
शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसर पारेर कावासोतीमा जिल्ला निर्वाचन कार्यालय नवलपुरले आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषय अन्तरक्रियामा दिइएको जानकारी अनुसार अब हुने निर्वाचनका लागि नवलपुरमा एउटा नयाँ मतदान स्थल थप गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका जिल्ला निर्वाचन अधिकारी ओमनाथ शर्मा ढुंगानाका अनुसार मध्यविन्दु नगरपालिकाको वडा नं. १३ मा एउटा मतदान स्थल थप गरिएको हो ।
नवलपुरमा अहिले थपिएका सहित मतदाताको संख्या २ लाख ३३ हजार १ सय २३ पुगेको छ जसमध्ये महिला मतदाताको संख्या १ लाख २३ हजार ५ सय ५२, पुरुष मतदाताको संख्या १ लाख ९ हजार ५ सय ६७ र ४ जना तेस्रो लिंगी मतदाता रहेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
