शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान
११ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन्
शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव विप्लव पनि छन् । शिक्षक श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको थियो ।
प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट हतियारसहित पक्राउ गरेको थियो । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद भएको थियो ।
