आजबाट शहीद सप्ताह शुरु




कावासोती, १० माघ।। आजबाट सहिद सप्ताहा शुरु भएको छ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको हो ।
नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज झुण्ड्याएर हत्या गरिएको थियो ।
त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।
नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।
देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसमा पहिले सार्वजनिक विदा दिने गरिए पनि हाल सरकारले यो विदा कटौती गरेको छ ।



सम्बन्धित
Loading...