मुस्ताङको मुक्तिक्षेत्रमा नेपाल टेलिकमको एफटीटीएचमार्फत उच्च गतिको इन्टरनेट
नेपाल टेलिकमले मुस्ताङको ३८ सय मिटर उचाईमा उच्च गतिको इन्टरनेट जडान गरेको छ । टेलिकमका अनुसार उच्च क्षेत्रमा इन्टरनेट सेवा विस्तार यो नेपालमै पहिलोपटक हो ।
धार्मिक तथा पर्यटकीय मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा पहिलोपटक तीव्र गतिको इन्टरनेटका लागि फाइबर टु द होम (एफटीटीएच) प्रविधि विस्तार भएको नेपाल टेलिकम बाग्लुङका वरिष्ठ इन्जिनीयर केशव शर्माले जानकारी दिए ।
नेपाल टेलिकमले देशभर तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा बुधबार वारागुङ मक्तिक्षेत्र १ र २ मा एफटीटीएच फाइबर नेट विस्तार गरेको उनले बताए ।
नेपाल टेलिकम जोमसोम शाखाले वारागुङ मुक्तिक्षेत्रको खिङ्गा, झारकोट, पुराङ रानीपौवा, मुक्तिनाथ, छेङ्गुर, झोङ र पुडाक लगायत गाउँमा तीव्र गतिको इन्टरनेट विस्तार गरेको टेलिकम जोमसोम शाखा प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।
