निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ
चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् ।
पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उनले भने, “राप्ती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ ।
पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन । राप्तीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलमा पानीको मात्रा कमी आएको उनले बताए। राप्ती नदीले बगाएर ल्याएका बालुवा तथा कङ्क्रिटले समथर निकुञ्जका भाग पुरिँदा पनि घाँसे मैदान मासिएको पाइन्छ ।
