पहिलो एकदिवसीयमा युएईसँग नेपालको हार
यूएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले पराजित भएको छ । यससँगै तीन म्याचको सिरिजमा नेपाल १-० ले पछि परेको छ ।
नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । नेपालले सामान्य लक्ष्य दिएको भएपनि घरेलु टोलीको ब्याटिङ पनि चलेको थिएन ।
नेपाली बलरहरु हावी भएका थिए । जब १९.२ ओभरमा यूएईले सातौं विकेट गुमायो, खेल नेपालको पक्षमा आएको मानिएको थियो । तर, आठौं विकेटका लागि अमिर हायात र इरान हैदरले ४३ रनको साझेदारी गर्दै यूएईलाई जित दिलाए ।
नेपालका कप्तान पारस खड्का भन्छन्, ‘यूएईलाई ७ विकेटको क्षतिमा ७६ रनमा पुर्याउादासम्म खेल हाम्रो हातमा थियो । तर, आठौं विकेटका लागि भएको साझेदारीले उनीहरुलाई जित दिलायो ।’
युएईका लागि घुलाम शब्बेरले सर्वाधिक ३० रन बनाए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।
नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।खराब सुरूवात गरेको नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहात दिए । सोमपालले ३० र आरिफले २५ रन बनाए ।