सेना–प्रहरीको श्रीमती संघहरु खारेज गर्न माग
काठमाडौं फागुन २४–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले सुरक्षा निकायमा रहेको श्रीमती संघ दासीहरुको संगठन रहेको आरोप लगाएकी छिन् ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेतृ भुसालले निजामती कर्मचारीतर्फ मुख्यसचिव, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आइजीपी बन्ने हैसियत भएका महिलाले दासी बनाउनका लागि श्रीमती संघ खोलेको बताइन् ।
उनले यस्ता संघसंस्थाबाट महिलाको अधिकार प्राप्त नहुने जिकिर गरिन् । श्रीमती संघहरुले महारानीको खोल ओढेर दासी बनाउने संस्कार सुरु गरेको भन्दै उनले त्यसको अन्त्य हुनुपर्ने बताइन् ।
उनले प्रधानमन्त्रीको श्रीमतीलाई प्रथम महिला (फस्र्ट लेडी) भन्नु पनि गणतन्त्रको उपहास रहेको बताइन् । उनले भनिन्, देशको प्रमुख अहिले विद्यादेवी भण्डारी हुन्, उनी प्रथम महिला (फस्र्ट लेडी) हुन् तर प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्नी श्रीमतीलाई प्रथम महिलाको रुपमा उभ्याउने गरेका छन् ।
नेतृ भुसालले यस्तो कार्य राजा महाराजाको पालमा हुने गरेको र अहिले गणतन्त्रमा आएर पनि त्यस्तै गरिरहेको बताइन् ।
विभिन्न आन्दोलनबाट प्राप्त महिलाको अधिकारलाई सुनिश्चित गर्न माग गर्दै उनले कम्तीमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिइन् ।
