महिलालाई हिंसामुक्त राख्न आर्थिक आत्मनिर्भरता बढाउनुपर्छ
नेपालमा हरेक वर्ष १० देखि १५ हजार महिलाहरू हिंसाबाट पीडित हुने गर्छन् । प्रहरी कार्यालयहरु र राष्ट्रिय महिला आयोग लगायतका स्थानमा सबैभन्दा बढी घरेलु हिंसाका उजुरी दर्ता हुने गरेका छन् ।
महिला हकहितका लागि कार्यक्रम तर्जुमा गर्ने र मौजुदा नीति तथा कार्यक्रमको समीक्षा गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने लगायतका काम कर्तव्य र अधिकार राष्ट्रिय महिला आयोगलाई छ । निकै लामो समयपछि आयोगले एक महिनाअघि पदाधिकारी पाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोग अध्यक्ष कमला पराजुलीसँग खबरहबका लागि सविना कार्कीले संवाद गरेकी छन्
राष्ट्रिय महिला आयोगले महिलाको हकहितका क्षेत्रमा के कस्ता काम गर्दै आएको छ ?
राष्ट्रिय महिला आयोग समस्त महिलाहरूको हकहित संरक्षण गरी उनीहरूलाई विकासको मूल प्रवाहमा लैजान काम गर्ने आयोग हो ।आयोगको स्थापना २०५८ सालमा भएको थियो । नेपालको संविधान २०७२ जारी भएपछि यस आयोगको हैसियत संवैधानिक भयो । यससँगै आयोगको कार्यक्षेत्र पनि बढेको छ ।
देशको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व आयोगमा छ । यो आयोगको भूमिका पनि व्यापक हुँदै गएको छ । विशेष गरी आयोगले हिंसामा परेका महिलालाई न्याय दिलाउने काम गर्दै आएको छ ।
